लम्पी स्किनबारे कृषि र अर्थमन्त्रालयसँग गरेको छलफलको प्रचार प्रसार नै भएन : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डझले पछिल्लो समय पशुहरुमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारले गम्भीर रहेको बताएका छन् ।
कृषि तथा पशुपंक्षी मन्त्रालय, पशुसेवा विभागद्वारा प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आयोजित छलफलमा प्रधानमन्त्री दाहालले लम्पी स्किनको बारेमा यसअघि नै आफूले कृषि मन्त्रालय र अर्थ मन्त्रालयसँग लगातार गरेको छलफलको कुनै प्रचार प्रसार नभएको गुनासो गरे ।
लम्पी स्किन रोग यसअघि दुई वर्ष अगाडि नै भारत र चीनमा देखिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यो रोग यसअघि देखिएका छिमेकी देशहरुबाट सिकेर बेलैमा नेपालमा तयारी गर्न नसक्नु कमजोरी भएको स्वीकार गरे ।
उनले भने – ’छिमेकी देशमा यो रोग दुई वर्ष अगाडि नै देखिएको थियो । हामीले त्यसबाट सिकेर पूर्वतयारी गर्नुपर्ने हुन्थ्यो, हाम्रा यसअघिका कदमहरुमा कमजोरी भएका कारण अहिले हामीले लम्पी स्किनको महामारी भोगेका छौं र क्षति पनि ।’
प्रधानमन्त्री दाहालले आगामी दिनमा पनि यी र यस्तै समस्या आउँन सक्छन् भनेर पूर्व तयारी गर्नुपर्नेमा कृषि मन्त्रालय र पशु सेवा विभागको ध्यानाकर्षण गराए ।
उनले भने –’अहिले राहत रोग नियन्त्रणमा काम तत्काल गरौं, आगामी दिनमा पनि यी र यस्ता समस्या आउँन सक्छन् भनेर भन्नेमा पूर्वतयारीलाई बलियो बनाउने तर्फ ध्यान दिऔं र सोही अनुसार योजना बनाऔं ।’
प्रधानमन्त्री दाहालले चीन र भारतको प्राक्टिस र विभिन्न अनुसन्धानबाट लम्पी स्किन रोग नियन्त्रणका लागि गोट पक्स भ्याक्सिन लगाउनु उपयुक्त देखिएको हुँदा नेपालमा पनि सो खोपको प्रयोग गर्न खुला गर्ने र त्यसमा संघ,प्रदेश र स्थानीय तह परिचालित हुनुपर्ने बताए ।
लम्पी स्किन रोगले गरिब किसान मारमा परेको चर्चा गर्दै प्रधानमन्त्री दाहालले भने–’गाई भैसी पाल्ने किसान गरीब र निम्म वर्गका नै हुन्छन् लम्पी स्किन रोगले सो वर्गका किसानलाई निकै ठूलो समस्यामा पारेको छ । किसानहरुलाई राहत दिने गरी छिट्टै मन्त्रिपरिषद्बाट निर्णय गर्नुपर्छ । ’
किसानलाई राहत दिनुका साथै हाल निःशुल्क रुपमा गोट पक्स भ्याक्सिन संघ,प्रदेश र स्थानीय तहले उपलब्ध गराउने गरी तयारी थाल्न उनले कृषि मन्त्रालयलाई निर्देशन समेत दिए ।
लम्पी स्किन रोग नियन्त्रणका लागि खोप को प्रयोगसँगै जनचेतना जगाउन प्रचारप्रसार गर्ने, पशु आहारमा ध्यान दिनेबारे पनि किसानहरुमा सचेतना फैलाउन जोडदिनुपर्ने प्रधानमन्त्रीको भनाई थियो ।
उक्त छलफलमा प्रधानमन्त्री, कृषि तथा पशुपक्षी मन्त्री वेदुराम भुषाल, योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका सचिव एकनारायण अर्याल,गणेश पाण्डे,रामप्रसाद थपलिया कृषि मन्त्रालयका पशुपंक्षी तर्फका सचिव दीपककुमार खराल,सोही मन्त्रालयका कृषि तर्फका सचिव गोविन्द शर्मा, नेपाल प्रहरीका आइजी वसन्त कुँवर लगायतको उपस्थिति रहेको थियो । ०००