एनआरएनए चुनाव : केन्द्रीय अध्यक्षका सम्भावित उम्मेदवार यि हुन्

पेन्सिलभेनिया अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को ११ औं सम्मेलन अक्टोबरमा काठमाडौंमा हुँदै छ । नयाँ नेतृत्व चयन पनि हुने भएकाले यो सम्मलेनमा एनआरएनए अभियन्ताहरुको ठूलो चासो रहेको छ । अहिले विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का चुनाव भइरहेका छन् । ८५ बढी देशमा एनआरएनएको संगठन विस्तार भएको छ । अक्टोबरको केन्द्रीय चुनाव (आईसीसी)लाई मध्यनजर गर्दै अहिले ३० बढी ठाउँमा अधिवेशन भइसकका छन् भने अरु ठाउँमा हुने क्रम पनि जारी छ ।
एनसीसीको चुनाव हुँदै गर्दा आईसीसीका आकक्षीहरुले जोडघटाउ भने सुरु गरिसकेका छन् । नेपालको राजनीतिक समिकरणको प्रभाव प्रष्टरुपमा देखिने एनआरएनएको नयाँ नेतृत्व लिनका लागि अहिलेबाट लविङहरु सुरु भएका खबरहरु पनि आइरहेका छन् ।
आसन्न आईसीसीको चुनावमा पनि विगतमा जस्तै प्यानल बन्ने पक्का छ । अहिले नेपालमा कांग्रेस, माओवादी, एकीकृत समाजवादीको सत्तारुढ गठबन्धन भएकाले एनआरएनएको चुनावमा त्यसैगरी समिकरण बन्ने बलियो संभावना देखिएको छ। एमाले अहिले सत्ता बाहिर रहेकाले एनआरएनएमा पनि उसलाई बाहिर बनाउने गरी रणनीतिहरु बनिरहेका छन् ।
आसन्न चुनावका लागि नेपाली कांग्रेसबाट वर्तमान कार्यसमितिका उपाध्यक्ष महेश श्रेष्ठ र महासचिव डा. केशव पौडेल उम्मेदवारको लागि दौडधुपमा लागि सकेका छन् । यसैगरी नेकपा एमालेबाट बद्री केसी आफै एक पटक उम्मेदवार बन्ने तयारीमा छन् । तर, युकेमा बस्ने अर्का उपाध्यक्ष डा. हेमराज शर्माले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् । हेमराजलाई बद्रीले छाडेमा मात्रै उम्मेदवार बन्ने सम्भावना रहेको छ। माओवादीबाट आफूलाई एक्लो दावेदारका रुपमा उपाध्यक्ष आरके शर्मा रहेका छन् ।
अहिले अमेरिकाको चुनावमा आफू अनुकुल नतिजा आएपछि एमालेहरु हौसिएका छन् । अमेरिकामा निर्वाचित भएका डा. अर्जुन बन्जाडेलाई बद्री केसीको समूहको साथ व्यापक रहेको थियो । आईसीसीमा जित्नका लागि अमेरिका, जापान, अस्ट्रेलिया, बेलायत लगाएतका ठाउँमा आफ्नो प्रभुत्व जमाउन सक्नुपर्छ भन्ने मान्यताका साथ ‘मनी र माइन्ड’ गेम खेल्न सुरु गरिएको थियो । जसको पछिल्लो उदाहरणका रुपमा अमेरिकाको चुनावमा गरिएको खर्च र निर्वाचनको मत परिणामा गरिएको हस्तक्षेपको रुपमा पनि लिन सक्छि । निर्वाचन समिति भन्दा पहिला नै अध्यक्ष केसीले मत परिणाम नै सार्वजनिक गरेका थिए ।
यसैगरी उपाध्यक्ष हेमराज शर्माले बेलायतमा भएको मत परिणाम सार्वजनिक समारोहलाई सम्बोधन गर्दै आफूले अध्यक्षको उम्मेदवारी दिने घोषणा गरिसकेका छन् भने उनले तयारी पनि अघि बढाएको बुझिएको छ । उनी अहिलेका अध्यक्ष बद्री केसीले छाडेमा मात्रै उम्मेदवार बन्ने छन् । मान्छे कांग्रेस निकट भए पनि हेमराजले एनआरएनएमा एमालेको पृष्ठपोषण गरेको आरोप छ ।
यता, नेपाली कांग्रेस निकट जापानका महेश श्रेष्ठ र अमेरिका बस्ने डा. केशब पौडेलबीच उम्मेदवार को बन्ने भन्ने प्रतिस्पर्धा सुरु भएको छ । अहिले दुवैले पार्टीका नेताहरुसँग सम्पर्क बढाएका छन् । महेशले उपाध्यक्ष भएकाले स्वभाविकरुपमा आफू अध्यक्षको उम्मेदावर रहेको दावी गर्दै आएका छन् भने डा. केशबलाई आफ्नो टिममा राख्ने विषयमा पनि छलफल अघि बढाएको बुझिएको छ । तर, केशवले पनि आफू महासचिव भएकाले अबको लक्ष्य अध्यक्षनै रहेको बताएका छन् । केशवलाई अहिले अमेरिकाको चुनावले भने केही धक्का दिएको छ । उनले समर्थन गरेका डिलु पराजुलीले चुनाव हारे पनि उनको आगामी यात्राका विषयमा पनि समिक्षा गर्नु पर्ने एकथरीको भनाईरहेको छ ।
माओवादीबाट भने वर्तमान उपाध्यक्ष आरके शर्मा एक्ला दावेदार हुन् । पार्टीमा सवै नेताहरुलाई मिलाउन सक्ने आरकेले सबैभन्दा पहिला चुनावी तयारी सुरु गरेका हुन् । कतारमा बस्ने आरकेले आफूसँग मिडिल इस्टको समर्थन रहेको भन्दै अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका छन् । उनले पार्टीमा मिलाइ सकेकाले सिंगल प्रतिस्पर्धा गर्दा उम्मेदवार बन्न कुनै बाधा हुने छैन । तर, सत्तारुढ गठबन्धनका कारण उनको पनि उम्मेदवार बन्ने अहिले संसयमा नै रहेको छ ।
१० औं सम्मेलनका बेला एनआरएनए २ समूहमा विभाजित भएको थियो । एउटा समूह (शेष घले) र अर्को संस्थापन रहेको थियो । घले समूहले होटेल याक एण्ड यतीमा अधिवेशन गरेर कोरियाका विनोद कुँवरलाई अध्यक्ष बनाएको थियो भने संस्थापन समूहले तीन जना अध्यक्षको कार्यकाल ६–६ महिना गरी टुंगाएको थियो । एनआरएनएको २ वर्षे कार्यकाल रहे पनि लगातारको विवादका कारण ६ महिना ढिला गरी १० औं केन्द्रीय अधिवेशन भएको थियो । त्यतिबेला बाँकी रहेका १८ महिनालाई ३ जना अध्यक्षको कार्यकाल ६–६ महिना गरेर पहिला कुल आचार्य, त्यसपछि रविना थापा र अहिले बद्री केसीले सम्हालिरहेका छन् ।
यसबीचमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घले समूहलाई पनि मिलाउनका लागि सहमति गराइसकेका छन् । बालुवाटारमा भएको सहमतिमा दुवै पक्षले हस्ताक्षर गरे पनि सहमति कति पालना हुन्छ त्यो भने हेर्न बाँकी छ । दुवै समूहको एकता साधारणसभाको रुपमा अगस्ट १२ तारिखलाई तोकिए पनि अहिले घले समूह सहमतिबाट भाग्न खोजेको आरोप पनि लागेको छ । तर केही व्यक्ति व्यक्तिगतरुपमा नआए पनि घले समूहका अधिकांश व्यक्तिहरु मूलधारमै फर्कने तयारीमा छन् ।
यसकालागि प्रचण्डले नै प्रस्ताव गरेको र अहिलेका घले समूहका अध्यक्ष कुँवर माओवादी निकट नै भएकाले पनि एनआरएनए एक हुने अत्याधिक धेरै सम्भावना छ ।
यस्तो अवस्थामा दुवै पक्षलाई मिलाउनका लागि घले समूहमा रहेका सोनाम लामालाई एनआरएनएको अध्यक्ष बनाउने अवस्था पनि आउन सक्ने धेरैको बुझाई छ ।
१० औं अधिवेशनको विवादका बेला सोनामले नेतृत्व गर्दै आफ्नै घरमा सचिवालय बनाएका थिए । तर अन्तिम समयका कुल आचार्य र डा. केशव पौडेलले घले समूहलाई छाडेर गएपछि यताको समूह इतरपक्षमा रुपान्तरण भएको थियो ।
त्यसैले पनि अहिलेको अवस्थामा घलेका अत्यन्त नजिकका सोनामलाई अघि सार्दा धेरैले स्वीकार गर्न सक्ने र एनआरएनए पनि एक हुने धेरैको बुझाई छ । सोनामले एनआरएनएमा आफूले पाएको सवै जिम्मेवारी कुशलतापूर्वक पूरा गरेका थिए र अहिले पनि गरिरहेका छन् ।