एनआरएन अमेरिका निर्वाचन: अध्यक्षमा सात सय २४ ‘नो भोट’

पेन्सिलभेनिया, अमेरिका / गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकामा ‘नो भोट’ को संख्या उल्लेख्य देखिएको छ।
एनआरएनए अमेरिकाको निर्वाचनमा पहिलो पटक नो भोट अथवा कुनै पनि उम्मेदवारलाई भोट नदिन पनि मिल्ने व्यवस्था गरिएको थियो। सबै पदमा नो भोट उल्लेख्य रहेको छ।
निर्वाचन आयोगले सोमवार बिहान सार्वजनिक गरेको औपचारिक नतिजामा अध्यक्ष पदमा सात सय २४ जनाले दुबै जनालाई भोट दिन इन्कार गरेका छन्।
आइतबार बिहान दश बजे निर्वाचन सकिएको थियो। निर्वाचन आयोगले औपचारिक घोषणा गर्नु अगाडि नै नतिजा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को तर्फबाट बाहिरिएको थियो।
अनधिकृत रूपमा नजिता चुहावट भएको भन्दै प्रमुख निर्वाचन आयुक्त बासु फुलराले पत्रकार सम्मेलन गर्दै आपत्ति जनाएका थिए। नतिजा चुहावटलाई उनले कानुनी उपचारमा समेत जाने भनेका थिए। तर मध्यरातमा आइसीसीका अध्यक्ष डा. बद्री केसीको हस्ताक्षर रहेको माफी पत्र सार्वजनिक गरेको निर्वाचन आयोगले त्यस पछि अन्तिम नतिजा बाहिर ल्याएको हो।
पत्रकार सम्मेलनमा प्रमुख आयुक्त फुलराले निर्वाचन नतिजा नै तलमाथि हुने सक्ने गम्भिर प्रसंङ्ग उठाएका थिए। तर शुरुमा चुहावट भएकै नतिजा नै उनले अन्तिम नतिजाको रूपमा सार्वजनिक गरेका हुन्।
निर्वाचन आयोगको अन्तिम नतिजा अनुसार कुल १३ हजार ६ सय ९२ मतदाता मध्ये ८२ दशमलव तीन प्रतिशत अर्थात् ११ हजार दुई सय ६९ जनाले मतदान गरेका थिए।
त्यस मध्ये पाँच हजार सात सय ३९ मत सहित डा. अर्जुन बन्जाडे अध्यक्ष पदमा विजयी भए। बन्जाडे भन्दा नौ सय ३३ मत कम ल्याएर डिलु पराजुली पराजित भए। डिलुले चार हजार आठ सय ६ मत ल्याएको निर्वाचन आयोगको नतिजामा उल्लेख छ।
अध्यक्ष पदका दुबै उम्मेदवारलाई मत नदिनेको संख्या सात सय २४ रहेको छ। अध्यक्ष पदमा मेरील्याण्डका मतदाता सबै भन्दा धेरै नो भोटको पक्षमा छन्। मेरील्याण्डका एक सय ६१ जना नो भोटको पक्षमा देखिएका छन्। त्यस पछि न्यु योर्कका एक सय ४१ जनाले दुबै जना उम्मेदवारको विपक्षमा मत दिएका छन्।
यो क्रम वरिष्ठ उपाध्यक्षमा झन् धेरै छन्। १५ सय ७९ मतदाताले वरिष्ठ उपाध्यक्षका दुबै उम्मेदवारलाई मत नदिने विकल्प छानेका छन्।
वरिष्ठ उपाध्यक्षमा विजयी विकास उप्रेतीले चार हजार नौ सय ४५ मत पाएका छन्। उनका प्रतिद्वन्द्वी अञ्जन चौलागाईले दुई सय दश मत कम ल्याएर चुनाव हारेका छन्। अञ्जनले चार हजार सात सय ३५ मत ल्याए।
वर्तमान कार्यसमितिमा उपाध्यक्ष रहेका उप्रेती डा. बन्जाडे र वर्तमान कार्यसमितिका महासचिव चौलागाई पराजुली टिमबाट चुनाव लडेका थिए। यद्पी एनआरएनएको विधानमा टिम वा प्यानल बनाएर चुनावी लडन् पाइँदैन। तर नत उम्मेदवारले नै त्यो नियम माने न त निर्वाचन आयोग नै आचार संहिता पालना गराउन सफल भयो।
चार उपाध्यक्षको लागि भएको निर्वाचनमा पनि एक हजार दश जनाले नो भोट गरेका छन्। उपाध्यक्षमा भानु खरेल, ज्ञानेन्द्र गुरुङ, नेत्र पाण्डे र प्रेम तामाङले चुनाव जितेका छन्।
उपाध्यक्षमा खरेलले सर्वाधिक चार हजार तीन सय ३५ मत पाएका छन्। त्यस पछि प्रेम तामाङले तीन हजार नौ सय पाँच मत पाएका छन्। ज्ञानेन्द्र गुरुङले तीन हजार आठ सय २६ मत पाएका छन्। चौथौँ स्थानमा रहेर चुनाव जितेका नेत्र पाण्डेले तीन हजार चार सय दश मत पाएका छन्।
उपाध्यक्षमा विजयी हुनेमा खरेल बाहेक सबै जना बन्जाडे टिमका हुन्। पराजुली टिमबाट उपाध्यक्षमा चुनाव लडेका सन्तोष पहारी दुई सय ४६ मतले हारेका छन्।
पाँचौँ स्थानमा रहेका पहारीले तीन हजार एक सय ६४ मत पाएका छन्। पराजुली टिमबाटै उपाध्यक्षमा जितेका भानु खरेलले टेक्ससबाट सर्वाधिक एक हजार ३८ मत पाउँदा पहारीले सात सय ५४ मत कम मात्र दुई सय ८४ भोट पाएका छन्।
महिला उपाध्यक्षमा १३ सय ३८ ले दुबै उम्मेदवारको विरुद्धमा मत दिएका छन्। जबकि विजेता र उपविजेता बिचको मत अन्तर ३० रहेको छ। महिला उपाध्यक्षमा विजेता सुनिता सापकोटा कँडेलले चार हजार नौ सय ५९ मत पाएकी छिन्। पराजित सुन्दरी गुरुङको चार हजार नौ सय २९ मत रहेको छ।
युवा उपाध्यक्षमा एक हजार पाँच सय २६ जनाले कुनै पनि उम्मेदवारलाई मत दिन इन्कार गरेका छन्।
युवा उपाध्यक्षमा विजेता अनुप खनालले तीन हजार सात सय २१ मत पाएका छन्। दोस्रो भएका रामचन्द्र पन्तले ३२ सय ६४ मत पाएका छन्। स्वतन्त्र उम्मेदवार त्रिभुवन पाण्डे दुई हजार सात सय ६ मत सहित तेस्रो स्थानमा रहेका छन्।
महासचिवमा पनि १५ सय ७४ जनाले दुबै उम्मेदवारलाई मत दिन इन्कार गरेका छन्। विजेता रामहरि अधिकारीले पाँच हजार एक सय ९७ मत पाएका छन्। दोस्रो भएका गोपेन्द्र भट्टराईले चार हजार चार सय ३९ मत पाएका छन्।
सचिव पदमा पनि नो भोटको बटम थिच्नेको संख्या एक हजार सात सय ८० रहेको छ। विजेता दीपक सापकोटाले चार हजार ५१ मत पाएका छन्। दोस्रो भएका एक देव शर्माले तीन हजार चार सय ७७ मत पाएका छन्। स्वतन्त्र उम्मेदवार विश्व सुवेदीले १८९३ मत पाएका छन्।
कोषाध्यक्षमा एक हजार आठ सय ३९ जना नो भोटमा देखिएका छन्। जित्ने सरोज सिग्देलले चार हजार ६ सय ९४ मत पाएका छन्। उनका प्रतिद्वन्द्वी अमृत शर्माले चार हजार ६ सय ५४ मत पाएका छन्।
नो भोट सबै भन्दा धेरै सह कोषाध्यक्ष पदमा रहेको छ। एक हजार नौ सय १९ जनाले दुबै उम्मेदवार विरुद्ध मतदान गरेका छन्। विजेता भण्डारीले चार हजार ६ सय ९१ मत पाएका छन्। हारेका रबीसिंह बस्नेतले चार हजार पाँच सय ७५ मत पाएका छन्।
युथ कोअडिनेटरमा १६ सय ७६ जना नो भोटको पक्षमा छन्। विजयी भएका तेज पौडेलले चार हजार नौ सय ६६ मत पाएका छन्। उपविजेता बिकी थापाले चार हजार पाँच सय ३९ मत पाए।
महिला कोअडिनेटरमा एक हजार सात सय २४ जना नो भोटमा रहेका छन्। विजेता सुनिता खत्रीको चार हजार आठ सय ९१ मत रहेको छ। चुनाव हारेकी मुना तिवारीको चार हजार पाँच सय ६० मत रहेको छ।
कुन उमेदवारको कति मत ?
एनआरएनए अमेरिका : पदाधिकारीमा टेक्ससको वर्चस्व
July 24, 2023 @ 11:24 pm
[…] […]
१७ घण्टा पछि डिलु पराजुलीले दिए डा. अर्जुन बञ्जाडेलाई बधाई
July 25, 2023 @ 12:18 am
[…] […]
एनआरएनए अमेरिका निर्वाचन: सबै भन्दा धेरै मत ल्याउने उम्मेदवार
July 26, 2023 @ 11:28 pm
[…] […]