विजयको उन्माद र पराजयको हतासा किन ?
लेखनाथ गौतम
टेक्सास,अमेरिका/ गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको निर्वाचन सम्पन्न भयो।
निर्वाचनको परिणाम घोषणा हुँदै गर्दा केही उत्ताउला कामहरू भए। सुरुमा निर्वाचन आयोगले परिणाम केही समय रोकेर राख्यो भने परिणामलाई अर्कै तरिकाले सार्वजनिक गरियो। अन्त्यमा निर्वाचन समितिले ढिला गरी निर्वाचनको परिणाम घोषणा गर्यो। यो बिचमा के कस्ता खेलहरू भए भन्दा पनि ढिला आयो दुरुस्त आयो भने झैँ मतदाताको रोजाइका मान्छेहरू सार्वजनिक गरियो।
निर्वाचनको परिणाम घोषणा भए पछि सामाजिक सञ्जालहरू बधाईका सन्देशहरूले भरिएका छन् र त्यसको क्रम जारी नै छ। यहाँ सम्म त ठिकै हो। केही गर्छु भनेर अगाडि आएकाहरुले जिते पछि तिनलाई बधाई दिनु स्वाभाविक नै हो। यो बधाई लेनदेनले नयाँ कार्यसमितिलाई समुदाय समक्ष अझ जोडिन मद्दत गर्न सक्छ। तर विजय र पराजयको यो माहौलमा नमिठा कुराहरू समेत बाहिर छताछुल्ल भएका छन् जुन राम्रो कुरा पक्कै होइन।
पक्कै पनि विजयी व्यक्तिहरू सबैलाई लिएर अगाडि बढ्न चाहनु हुन्छ। नयाँ कार्यसमितिले पराजित भएका उम्मेदवारहरूको पनि भावनाको कदर गर्नु पर्छ र गर्नु नै पर्छ। यसमा पराजित भएका उम्मेदवारहरूले पनि राम्रै मत पाएको अवस्थामा उनीहरूको कुरा पनि सुनिनु पर्छ भन्ने माग समुदायबाट पक्कै हुनेछ र सबैलाई सँगै लिएर जानु नै अहिलेको कार्यसमितिको लागि सहज र श्रेयस्कर हुन जान्छ।
बधाईको यो बाढीमा केही यस्ता उरन्ठेउला विचार र अभिव्यक्तिहरू आएका छन् जसले विजयी उम्मेदवारहरूलाई असजिलो र उनीहरूको भावी योजनाहरूलाई अप्ठेरो बनाइदिन सक्छ। ठुलै युद्ध जितेको जस्तो भान हुने गरी व्यक्त यस्ता अभिव्यक्तिहरू क्षणिक रूपमा “लुतो कन्याउन्दाको मजा” जस्तो भए पनि वास्तविकतामा भने यिनले समुदायमा भने “घाउ” नै लगाउने गर्छन्। विजयी हुन नसकेका उम्मेदवार वा उनीहरूका समर्थकहरूलाई “खलनायकीकारण वा भिलिफाई” गर्दै निर्वाचितहरुलाई “महाभारतको अर्जुन” को रूपमा व्याख्या गर्ने प्रवृत्तिले केही व्यक्तिहरूलाई “मुते न्यानो” त होला तर संस्था र यसको एकतामा भने नकारात्मक असर गर्छ।
पक्कै पनि विजयी हुनुभएका सबैलाई आफ्नो कार्यकालमा केही गर्ने, संस्था एकजुट बनाउने र विघटन तर्फ उन्मुख संस्थालाई पुनर्जीवन दिनु पर्ने चुनौती छ। त्यसको लागि व्यापक छलफल, सबैको सक्रिय सहभागिता र सहयोगको आवश्यकता पर्छ।
बधाई का नाममा व्यक्त केही उरन्ठेउला विचारहरूलाई व्यवस्थापन गर्ने जिम्मेवारी पनि विजयी उम्मेदवारहरूकै हुन आउँछ। संस्थालाई एकताबद्ध र सबल बनाउन यस्ता उरन्ठेउला व्यक्ति र उनीहरूका अभिव्यक्ति बाधक बन्छन् भन्ने कुरा हेक्का राख्नु पर्छ। यस्ता व्यक्तिहरूको लहैलहैमा लागेर “मै हुँ” भन्ने भ्रम पाल्नु आफ्नै खुट्टामा बन्चरो हान्नु हो। यस्ता व्यक्तिहरूको चाहना भनेको दुई पक्षमा विवाद बनाएर बलेको आगोमा आफ्नो रोटी सेक्नु हो। यसमा सचेत हुनुपर्छ। विजयको ऊर्जा र सकारात्मक भावना सहित नयाँ कार्यसमितिले काम थाल्नु पर्छ।
अर्को तिर विजयी हुन नसकेकाहरूले पनि हतोत्साहित हुनु पर्ने कुनै कारण छैन। समाजसेवा गर्नकै लागि उम्मेदवार बनेको यो भने पराजित हुँदैमा पनि यो कर्म गर्नबाट वञ्चित हुनु पर्दैन। नयाँ कार्यसमितिलाई सकारात्मक काममा सहयोग गरेर होस् वा अन्य तरिकाले समाजसेवा गर्न सकिन्छ। मलाई भन्दा सदस्यहरूले अरूलाई राम्रो गर्न सक्छ भनेर पत्ताएको भन्ने अर्थ लगाएर आफ्नो तर्फबाट सक्ने काम गरेर समाजसेवाको त्यो भोक मेटाउन सकिन्छ। उम्मेदवारी आफ्नो लागि थियो भने मात्र नत्र पराजित हुँदैमा विचलित हुनु पर्ने कुनै कारण छैन। समाजमा झन् सक्रिय भएर “यिनलाई पो भोट दिन पर्ने रैछ” भन्ने पर्ने गरी समाजमा काम गरेर पनि देखाउन सकिन्छ।
अन्त्यमा निर्वाचित कार्यसमितिलाई बधाई र सफलताको शुभकामना। जितको उन्माद होइन “जिम्मेवारी बोध” सहित काम सुरु गर्नुहोला। गर्नु पर्ने काम धेरै छन्, सबैको साथ र सद्भाव लिएर अगाडी बढ्नुहोला। आगामी दुई वर्ष एनआरएन अमेरिकामा झगडा होइन छलफल, गुटबन्दी होइन एकता, पदीय घमन्ड होइन कामको गर्व, बदला भाव होइन भाइचारा देख्न पाइयोस्। अर्जुनलाई अर्जुन बाट दुर्योधन बनाउने तर्फ धेरै सकुनी र दुष्शासनहरू सक्रिय भए पनि एनआरएन अमेरिकालाई “स्वच्छ” बनाएर छाड्ने अर्जुन दृष्टि लिएर अघि बढेमा वर्तमान कार्यसमिति सफल हुनेछ। अहिलेलाई यति नै !!