पाण्डेको आरोप : महामन्त्री थापाले अतिरञ्जित कुरा गरे

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महामन्त्री गगन थापाले अतिरञ्जित कुरा गरेको आरोप लगाएका छन् ।
केन्द्रीय समितिको तेस्रो दिन चलिरहेको बैठकको प्रारम्भमा बोल्ने क्रममा पाण्डेले संसदीय दलको नेता परिवर्तन गर्नुपर्ने थापाको बोलीप्रति लक्षित गर्दै यस्तो आरोप लगाएका हुन् ।
उनले भने ‘विधानको अभ्यास गर्न कसैले रोक्न सक्दैन । सभापतिले पनि सक्नुहुन्न् । कसैले पनि सक्दैन । त्यो कुन बेला कुन समयमा प्रयोग गर्ने हो । त्यो गरौं,’ ‘त्यसमा आपत्ति छैन । पाइन्छ, गर्ने पनि हो सकिन्छ भने । गर्ने कुरालाई भनेर मात्रै अतिरञ्जित नगरौं ।’
पार्टीका प्रतिनिधि सभाका २५ प्रतिशत सदस्यले माग गरेमा संसदीय दलको नेताका लागि चुनाव हुने व्यवस्था छ । विधानको व्यवस्था कार्यान्वयन गर्न सकिने तर बाहिर बोल्दै हिँड्न नहुने पाण्डेको तर्क छ ।
उनले भने ‘ ‘जनताका बीचमा कांग्रेस मात्र होइन, मुलुकका ठूला पार्टीमा वितृष्णा बढेको छ,। यसको कारणको बारेमा केन्द्रीय समितिमा गम्भीर भएर छलफल गर्न जरूरी छ।’
सुशासन दिन नसक्दा, भ्रष्टाचार र बेथितिले ठूला दलप्रति जनताको वितृष्णा बढेको पनि आफूलाई लागेको पाण्डेको भनाइ थियो ।