भद्रकुमारी घले सेवा सदन नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश

काठमाडौं । काठमाडौं महानगरपालिकाले भद्रकुमारी घले सेवा सदन भत्काएपछि उच्च अदालत पाटनले भने सदन नभत्काउन अल्पकालीन आदेश दिएको छ ।
उच्च अदालतका न्यायाधीश श्यामजी प्रधानको एकल आदेशले सेवा सदनमा भएको अतिक्रमण समेत तत्काल रोक्न आदेश दिएको छ ।
काठमाडौं महानगरपालिकाले बुधबार दिउँसा सार्वजनिक जग्गामा बनेको भन्दै सदनको भवनमा डोजर लगाएको थियो ।
भद्रकुमारी घले सेवा सदनको तर्फबाट भद्रकुमारी घलेले काठमाडौ महानगरपालिकाविरुद्ध निषेधाज्ञा लगायतको उपयुक्त आदेश जारी गरी पाउँ भनी दिएको रिटमा भएको बहसपछि न्यायाधीश प्रधानको इजलासले उक्त आदेश दिएको हो ।
रिट निवदेककोतर्फबाट वरिष्ठ अधिवक्ता शरदप्रसाद कोइराला र अधिवक्तात्रय खडानन्द कडेल, प्रकाश थापा र केशव भट्टराईले बहस गरेका थिए ।