‘पूर्ण तोयासाङ मेमोरियल फुटबल’ ओहायोमा अगस्ट पहिलो साता

एक्रोन,ओहायो/ पूर्व फुटबल खेलाडी पूर्ण तोयासाङको सम्झनामा अन्तर-राज्य मेमोरियल फुटबल अगस्ट पहिलो साता ओहायो राज्यको एक्रोन सहरमा अगस्ट चार देखि ६ तारिक सम्म हुने भएको छ।
एक्रोन युनाइटेड एफसीले प्रतियोगिता आयोजना गर्न लागेको हो। क्लब अघिल्लो वर्ष स्थापना भएको हो।
‘क्लब स्थापना भए पछि हामीले आयोजना गर्न लागेको यो पहिलो प्रतियोगिता हो।’ अध्यक्ष डिल्ली सुवेदीले समाज टाइम्स सँग भने, ‘तोयासाङ पूर्व फुटबल खेलाडी हुन । उनको निधन भएको एक वर्ष हुन्छ। उनको सम्झनामा प्रतियोगिता आयोजना गर्न लागेका हौ।’
‘हाम्रो समाजमा आत्महत्याको क्रम बढेको छ, त्यसलाई रोक्न खेलकुद मार्फत जनचेतना जनाउन यो प्रतियोगिता आयोजना गर्न लागेका हौ।’ सुवेदी भने।
खेलहरू एक्रोनको कोप्ली फुटबल कम्प्लेक्स (1806 COPLEY RD, AKRON, OH 44320) मा हुने छन्।
अध्यक्ष सुवेदीका अनुसार महिला र पुरुष दुवै तर्फ खेल खेलाइने छ। पुरुष तर्फ १६ र महिला तर्फ ६ टिम सम्म दर्ता गरिने छ।
‘अहिले सम्म पुरुष तर्फ १२ र महिला तर्फ ६ टिम दर्ता भइसके।’ सुवेदीले भने।
प्रतियोगिताको अनुमानित बजेट ३० देखि ४० हजार अमेरिकी डलर रहेको छ। पुरस्कारमा मात्र २४ हजार डलर खर्च हुने छ। दर्ता शुल्क र प्रायोजकबाट खर्च उठाइने अध्यक्ष सुवेदीको भनाई छ।
टिम दर्ताका लागि एक हजार एक डलर तोकिएको छ।
पुरुष तर्फको विजेताले दश र उप विजेताले ६ हजार पाउने छन्। यस्तै महिला तर्फ विजेताले पाँच र उपविजेताले तीन हजार पाउने छन्।
क्लिभल्याण्ड युनाइटेड, एफसी गहना, युनिक ब्वाइज एफसी, नर्थ डकोटा एफसी. एफ सी युनाइटेड, केन्टकी एफसी, माचो एफसी,इलिनोइस एफसी,एक्रोन युनाइटेड एफसी,विपसीटी एफसी, क्लिभल्याण्ड युनाइटेड एफसीले प्रतियोगिता लागि नाम दर्ता गरेको अध्यक्ष सुवेदीको भनाई छ।
