पाकिस्तान ‘ए’सँग नेपाल ४ विकेटले पराजित

काठमाडौं । एसीसी पुरुष इमर्जिङ टिम्स कप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तान ’ए’ सँग ४ विकेटले पराजित भएको छ ।
कोलम्बोस्थित श्रीलंकाको कोलम्बो क्रिकेट क्लबमा सम्पन्न खेलमा जितका लागि पाकिस्तानले पाएको १ सय ८० रनको लक्ष्य ३२ ओभर ५ बलमा आफ्ना ६ खेलाडी गुमाएर पूरा गरेको थियो ।
नेपालमा पवन सर्राफले पाकिस्तानका दुई ओपनरलाई सस्तोमा पेभेलियन फर्काएर सुरुवातमा नै आशा जगाएका थिए । सर्राफले पाकिस्तानका प्रारम्भिक व्याट्सम्यानद्वय हसिबुल्लाह खान १२ र सइम अयुबलाई २४ रनमा आउट गरेका थिए । पाकिस्तानका अर्का ब्याटर वमिर बिन युसुफ ३६ रनमा आउट भए । पाकिस्तानका लागि मोहम्मद तय्यब ताहिरले सर्वाधिक ५१ रन बनाए । यस्तै कमरन गुलामले ३१ रन बनाएका थिए । नेपालका लागि ललित राजवंशीले ३, पवन सर्राफले २ र कुशल मल्लले १ विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले कमजोर खेल पस्कदा प्रारम्भिक व्याट्सम्यानहरुलाई सस्तैमा गुमाएको थियो ।
प्रारम्भिक व्याट्सम्यान कुशल भुर्तेलले १ रन मात्र बनाउँदा आरिफ शेख १२ रन बाहिरिए । अर्जुन साउदले १७ रन जोड्दा कप्तान रोहित पौडेल मात्र ४ रनमा बाहिरिए । भीम सार्की रनले कुनै रन नबनाउँदा पवर्न सर्राफले १ रन जोडे । १० ओभरमै ६ विकेट गुमाएका नेपालका लागि अवस्था नाजुक देखिएको थियो । तर नवौ क्रममा आएका सोमपाल कामीले अर्धशतक बनाएपछि नेपाल लाजमर्दो अवस्थाबाट उक्सिएको थियो ।
प्रतिश जीसीसँग मिलेर सोमपाल कामीले ५८ रनको साझेदारीपछि नेपालको सम्मानजनक अवस्थातर्फ लागेको थियो । प्रतिशले २६ रन जोड्दा आसिफ शेख र कुशल मल्लले समान १७÷१७ रनको योगदान गरे । सोमपालले १०१ बलको सामना गरेर ९ चौका र २ छक्काको सहयोगमा ७५ रनको राम्रो योगदान गरे । नेपालले ३७ ओभर खेलेर आफ्ना सबै विकेट गुमाउँदै १७९ रन बनायो ।
पाकिस्तान ’ए’ का लागि साहनवाज दहनीले नेपालको ५ र मोहम्मद वासिमले ४ विकेट लिएका थिए । प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानको युवा खेलाडीले भरिएको ‘ए’ टोली पठाउने गरेको छ । एसोसिएट टोलीबाट छनोट भएर आउने राष्ट्रले भने राष्ट्रिय टोली नै उतार्दै आएको छ ।