कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । देशभर बदली रही सबै प्रदेशका केही स्थानहरूमा वर्षाको सम्भावना रहेको छ ।
कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ ।
आज मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको छ ।
राती भने देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोसी र गण्डकी प्रदेश लगायत देशका तराईका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको हुनाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने देखिन्छ।
तसर्थ हावा हुरी भारी वर्षा, मेघ गर्जन/चट्याङ्ग, गेग्र्यान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।














