हराएको सौन्द्धर्यमा लाली थप्दै काठमाडौँ,कङ्क्रिटको जङ्गल फूलबारीको सहर बन्दै
काठमाडौँ । कचौरा आकारको काठमाडौँलाई धेरैले प्राकृतिक वातानकुलीत सहर पनि मान्ने गर्छन् । बिछट्टै प्राकृतिक आकर्षणले लोभलाग्दो काठमाडौँ प्राचीन सम्पदाहरूको कारण पनि छुट्टै परिचय स्थापित गर्न सफल भएको छ । मन्दिर नै मन्दिरको सहरको उपनामले ख्याति कमाएको काठमाडौँ कङ्क्रिटको जङ्गल र प्रदूषणको कारण बदनामी पनि भोग्यो । तर काठमाडौँ अहिले फरक बन्न खोज्दै छ, आफ्नो सौन्द्धर्यतमा पुनः कसी लगाउन खोज्दै छ ।
ज्याकाराण्डा फुल्ने समयमा काठमाडौँ मनमोहक बन्ने गर्छ । सिरिसको फुल फुलेको बेलमा पनि काठमाडौँ हेरिरहूँ जस्तो लाग्छ । तर यी भए काठमाडौँमा हरेक वर्ष फुल्ने मौसमी फूलहरू । सबैको सपनाको सहर बनेको काठमाडौँ सङ्घीय राजनीतिका कारण पनि यहाँको जनघनत्व बढ्दो छ भने कङ्क्रिटका घरहरू थपियो छ । जसको कारण विरूप बनेको काठमाडौँ पुनः सौन्दर्य खोज्न थालेको छ । आफ्नो हराएको वशैमा पुनः लाली पोत्न थालेको छ ।
अहिले काठमाडौँमा पैदल यात्रीहरूले फरक महसुस गर्न थालेका छन् । जताततै फूलेका फूलहरू र गमलामा सजाइएका धेरै थरीका फूलहरूले काठमाडौँको सुन्दरतामा फरकपन आएको महसुस गर्न थालिएको छ ।
सडक हिँड्ने यात्रुहरू भन्छन् – काठमाडौँ फेरियो, सुन्दर बन्यो र बनिरहोस् यस्तै सधैँ । ’
काठमाडौँका फुटपाथ प्रयोगकर्तालाई अहिले केही समय सडक छेउमै बसौँ बसौँ लाग्छ, केही समय टोलाऊँ फोटो खिचौँ जस्तो लाग्न सक्छ ।
काठमाडौँको प्रदर्शनी मार्गमा मात्रै होइन, यसअघि फटाफट दायाँ बायाँ नहेरी हिड्नेहरुका आँखा अहिले नचाहेर पनि राजधानीको सडकका किनारामा अडिन्छन् ।
काठमाडौँ महानगरले थालेको सहरको सौन्दर्यीकरण अभियानका कारण अहिले काठमाडौँका बिजुली बजार, प्रदर्शनी मार्ग, शङ्करदेव लगायतका क्षेत्रका सडक अहिले गमलासहितका फुलले सजिएका छन् ।
सङ्घीय राजधानी समेत रहेको काठमाडौँलाई सुन्दर बनाउन महानगरपालिकाले सौन्दर्यीकरण गर्ने काम थालेकोमा सबै खुसी छन् ।
सडक, फुटपाथ र सडकका भित्तालाई आकर्षक र सफा बनाउने काम थालेको महानगरले पछिल्लो समय सडक फुटपाथलाई नै सुन्दर बनाउन गमलाले सजाउन थालेको छ ।
काठमाडौँ देशको राजधानी भएको हिसाबले पनि यहाँ मानिसको धेरै चाप रहने गर्दछ । मानिसको साथै घर र बस्तीको पनि उत्तिकै चाप रहने हुनाले काठमाडौँमा हरियाली सायदै देख्न सकिन्छ ।
हरियालीको अभाव र कङ्क्रिटको जङ्गल बन्दै गएको काठमाडौँ सहरलाई हरियाली पूर्ण बनाउने अभियानमा महानगरपालिका लागिपरेको छ ।
यसै क्रममा उपत्यकाका विभिन्न स्थानका सडकहरू यति बेला फूलका गमलाले सजिएका छन् । महानगरपालिकाले शनिवारदेखि उपत्यकाका विभिन्न स्थानमा रङ्गीचङ्गी फूलका गमलाहरू राखेर व्यस्त सहरलाई केही समयको विश्राम र सुन्दरता दिने प्रयास गरेको छ ।
सहरलाई स्वच्छ, सफा र हरियाली बनाउने हो भने यसमा महानगरको मात्रै प्रयासले हुदैँन् । यसमा स्थानीयदेखि सडक प्रयोगकर्ता लगायत सबैको लगाव उत्तिकै हुन जरुरी छ । हरेक दिन केही समय निकालेर रुख बिरुवा रोप्ने, गोडमेल गर्ने र सहरलाई सफा बनाउने प्रयास गर्ने हो भने काठमाडौँले आफ्नो पुरानो ख्याति मात्र फर्काउने निश्चित छ । यसो भए काठमाडौँ सबैभन्दा प्रदूषित सहर नभई सबैभन्दा चित्ताकर्षक र स्वच्छ सहरको रूपमा आफूलाई चिनाउन पनि सक्छ ।















