भेट्रान शुभकामना दौड : धर्म र कल्पना भए पहिलो
काठमाडौँ । पूर्व धावक एवं गीतकार बुद्धवीर लामाको एकल साङ्गीतिक प्रस्तुतिको पूर्व सन्ध्यामा आयोजित भेट्रान ५ किलोमिटर शुभकामना दौडमा धर्म महर्जन र कल्पना महर्जन पहिलो भएका छन् । बिहीबार आयोजित प्रतियोगितामा धर्म पुरुष तथा कल्पना महिलामा पहिलो भएका हुन् ।
अन्तर्राष्ट्रिय भेट्रान प्रतियोगिताका पदक विजेता एवं विश्वका प्रसिद्ध म्याराथन लन्डन, बोस्टन, बर्लिन, टोकियोलगायतका म्याराथन दौडिसकेका धर्मले निर्धारित दूरी १८ मिनेट ४८ सेकेन्डमा पूरा गरे । भीमबहादुर गुरुङ दोस्रो तथा राजेश महर्जन तेस्रो भए ।
वैकुण्ठ मानन्धर खेलकुद नेपाल र प्रयास मञ्च नेपालद्वारा संयुक्त आयोजित दौडमा कल्पनाले दूरी २८ मिनेट ४० सेकेन्डमा तय गरिन् । याङदकी लामा शेर्पा दोस्रो तथा सिता रिमाल तेस्रो स्थानमा रहे ।
बुद्धवीर लामाको एकल साङ्गीतिक प्रस्तुतिको पूर्व सन्ध्यामा प्रत्येक वर्ष आयोजना गरिने शुभकामना दौडमा ६७ प्रतिस्पर्धी सहभागी थिए । १२ औँ संस्करणको साङ्गीतिक प्रस्तुति यो वर्षको अगस्टमा इङ्गल्यान्डको लन्डनमा हुँदै छ । १० औँ अमेरिकामा भएको थियो । ‘स्वास्थ्यका लागि दौड, राष्ट्रका लागि दौड’ नारा दिइएको दौडमा बुद्धवीर लामा आफै पनि दौडेका थिए । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हाताबाट सुरु भएको दौड विभिन्न भागको परिक्रमा गरी राखेपमै आएर टुङ्गिएको थियो ।
विजेतालाई एथलेटिक्सका पूर्व प्रशिक्षक मधु शमशेर राणा, नेपाल भलिबल सङ्घकी पूर्व सदस्य एवं समाजसेवी ज्योति केसीलगायतले एक कार्यक्रमबिच पुरस्कृत गरे । त्यसअघि दौडको दक्षिण एसियाली खेलकुदका कीर्तिमानी पूर्व धावक वैकुण्ठ मानन्धरले उद्घाटन गरेका थिए ।
सो अवसरमा तीन पटककी एभरेस्ट म्याराथन विजेता याङदी लामा शेर्पा, धावक द्वय पुष्पलाल महर्जन र लाक्पा शेर्पा लामालाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।














