सहमहामन्त्री आङदेम्बेको आक्रोश : दुई जना उप–सभापतिलाई मन्त्री बन्न के जरुरत थियो ?

Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङ्देम्बेले पार्टी सुषुप्त भएर चौतर्फी आलोचना खेपिरहँदा दुई जना उप–सभापतिलाई मन्त्री बन्नुपर्ने आवश्यकता नरहेको र उक्त कुरा आफूलाई चित्त नबुझेको बताएका छन् ।
शुक्रबार ललितपुरमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ केन्द्रीय कार्यसमितिले गरेको दुई दिने राष्ट्रिय प्रशिक्षण कार्यक्रममा उनले पार्टीको आन्तरिक नेतृत्वलाई सम्हाल्नुपर्ने समयमा दुई जना उप–सभापति मन्त्री बनेको भन्दै कडा शब्दमा असन्तुष्टि पोखे ।
उनले भने, ‘मलाई के कुरामा चित्त बुझेको छैन् भने,अहिलेको अवस्थामा सर्वत्र पार्टीप्रति चोर औंलो ठडिदै गर्दा पार्टी सुषुप्त भैराखेको छ भनेपछि म सोध्न चाहन्छु, हाम्रा दुईदुई जना उपसभापतिलाई मन्त्रीमा जान के आवश्यकता थियो ? एक जना उपसभापतिले नेतृत्व गरे पुग्दथ्यो ।चाहे त्यो एक नम्बरले गरेको होस् या दुई नम्बरले तर, एक जनाले पार्टी रुग्नु पथ्र्यो । किन यसो गरिदैन् ?’
सहमहामन्त्री आङदेम्बेले महामन्त्रीद्वयलाई व्यङ्य गर्दै महाधिवेशनको एक वर्ष पुग्दा समेत युवाले नेतृत्व गरेको पार्टीको आभाष दिलाउन नसकेकोले समीक्षा गर्नुपर्ने बताए ।
‘हिजो पन्ध्रौं महाधिवेशनमा पुग्दै गर्दा खेरि अनुभवी उमेरहरुको सम्मानजनक विदाई गरेर युवा उमेरले पन्ध्रौ महाधिवेशनको नेतृत्व गर्छौ भनेको होनित, अधिवेशन सकिएको एक वर्ष पुग्दापनि त्यो अनुभूति हाम्रा उमेरहरुलाई दिन सके कि छैन् यसको खोजी गर्नुपर्छ ।’ आङ्देम्बेले भने ।
त्यस्तै उनले दुई महामन्त्रीलाई बाहिर उफ्रेर मात्रै नहुने भन्दै पार्टीभित्र नै संघर्ष गर्नुपर्ने बताए ।
उनले भने ‘बोल्नका निम्ति बोलेर मात्रै हुँदैन्,विभिन्न भूगोलमा उफ्रेर मात्र हुँदैन, हामीहरुले पार्टी भित्रै हो संघर्ष गर्ने । ’
सहमहामन्त्री आङदेम्बेले केन्द्रीय कार्यसमिति लामो समयबाट कर्मचारीबाट सञ्चालित भैरहेको जस्तो देखिएको भन्दै महामन्त्री द्वयको कार्यशैलीप्रति प्रश्न मात्र उठाएनन्,कार्यकर्ताले दिएको जिम्मेवारी,दायित्व र विस्वासलाई केन्द्रीय कार्यालय भित्रै बसेर सम्बोधन गर्नुपर्ने उल्लेख गरे ।
उनले भने ‘आफूले कार्यकर्ताको विश्वास नतोड्ने र पार्टीको हितका लागि आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता गर्दा, पार्टीको यो अवस्था सृजना हुँदा एकातिर औंलो ठड्याएर आफू चोखिन पानीमाथिको ओभानो बन्ने कोसिस गर्नु हुँदैन, सबैले आ–आफ्नो जिम्मेवारी महशुस गरी कार्यकर्ताले दिएको त्यो जिम्मेवारी,दायित्व र विस्वासलाई यही केन्द्रीय कार्यालय भित्र बसेर सम्बोधन गर्नुपर्छ । झगडा यही भित्र गर्ने हो,आफ्नै घरभित्र बसेर ।’