आज हरिशयनी एकादशी घरघरमा तुलसी रोपेर भगवान विष्णुको आराधना गरिदै
काठमाडौं । आज हिन्दू धर्मावलम्बीहरुले घरघरमा तुलसी रोपेर हरिशयनी एकादशी पर्व मनाउँदैछन् ।
आषाढ शुक्ल एकादशीका दिन मनाइने यस पर्वमा निर्जला एकादशीको दिन छरिएको तुलसीलाई विरुवाकोरुपमा रोप्ने गरिन्छ ।
आजको दिनदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्नु हुने धार्मिक विश्वासका आधारमा यस दिनलाई हरिशयनी एकादशी पनि भन्ने गरिन्छ । तुलसीलाई भगवान् विष्णुको वानस्पतिक प्रतीकरुपमा पनि पूज्ने चलन छ ।
हिन्दू धर्मावलम्बीको घर आँगन तथा मठमा रोपिने तुलसीको विरुवालाई आगामी चार महिनासम्म नित्यपूजा गरी हरिबोधनी एकादशीका दिन साङ्गेगर्ने धार्मिक परम्परा छ । हरिशयनी एकादशीका दिन सुत्नु भएका भगवान विष्णु हरिबोधनी एकादशीका दिन जागा हुनु हुने शास्त्रीय मान्यता छ ।
चतुर्माससमेत भनिने यस चार महिनाको अवधिमा व्रत बस्ने भक्तजनले साउनमा साग, भदौमा दही, असोजमा दूध र कात्तिकमा दुई दल भएर उम्रने गेडागुडी खानु नहुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिको भनाइ छ ।
यस अवधिमा पर्ने आठवटा एकादशीमा भगवान् विष्णुको विशेष उपासना गरी एकादशी महात्म्यको पाठ पारायण गर्ने मान्यता पनि छ । चतुर्मासमा वृहस्पति र शुक्र अस्त भएपनि व्रत गर्नुपर्ने शास्त्रीय मान्यता छ ।
हरिशयनी एकादशीको दिनदेखि विभिन्न धार्मिकस्थल, सत्तल तथा पाटीमा चार महिनासम्म चतुर्मास पुराण पनि प्रारम्भ गरिन्छ । वर्षका २४ एकादशीमध्ये आषाढ शुक्ल र कार्तिक शुक्ल एकादशीलाई ठूलो एकादशीका मनाइने गरिन्छ ।
हरिशयनी एकादशीको आजको दिन काठमाडौँको बूढानीलकण्ठस्थित नारायणस्थान, उपत्यकाका चार नारायण मन्दिरलगायत मुलुकभर रहेका विष्णु मन्दिरमा पनि पूजाआजा तथा धार्मिक अनुष्ठानका लागि भक्तजनको भीड लाग्छ ।
तुलसीलाई आयुर्वेदिक दृष्टिले औषधिका रुपमा समेत उपयोग गरिन्छ भने वैज्ञानिक रुपमा पनि तुलसीबाट धेरै अक्सिजन पाइने तथ्य प्रमाणित भएको छ । व्यावहारिक पक्षलाई हेर्ने हो भने वृक्षहरुमा सबैभन्दा ज्यादा अक्सिजन उत्सर्जन गर्ने र वातावरणीय दृष्टिले अत्यन्तै पवित्र विरुवाकोरुपमा तुलसीलाई लिने गरिन्छ ।















