माओवादीसहितको समाजवादी मोर्चा गठनबारे नेताहरुबीच छलफल
काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रसहितका दल मिलेर समाजवादी मोर्चा गठनबारे नेताहरुबीच छलफल भएको छ ।
आज बिहान बालुवाटारमा भएको चार दलका शीर्ष नेताबीचको छलफलले अबको दुईदिन भित्रैमा मोर्चा घोषणा गर्नेगरि छलफल गरेको माओवादी महासचिव देव गुरुङले जानकारी दिए ।
उनले भने ‘ आज कति गते तीन गते पाँच गतेभित्रै मोर्चा घोषणा गर्ने भन्ने विषयमा छलफल भएको छ ।’
तर मिति नै भने नतोकिएको उनको भनाई छ ।
‘दुईदिन भित्रै भन्ने छ भोली नै पनि हुनसक्छ । पर्सि पनि हुन सक्छ । ठ्याक्कै निर्णय भएको छैन् तर दुइ दिन भित्रमा हुन्छ ।’ उनले भने ।
आज बिहान बालुवाटारमा भएको छलफलमा माओवादी केन्द्रबाट प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ तथा नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, जसपाबाट अध्यक्ष उपेन्द्र यादव र नेकपाबाट महासचिव विप्लव सहभागी भएपनि डा. बाबुराम भट्टराई वामदेव गौतम भने सहभागि थिएनन् ।
भट्टराईले नेतृत्व गरेको समाजवादी मोर्चा र गौतम संयोजकत्वमा रहेको राष्ट्रिय एकता अभियानसहित गरि मोर्चामा ६ दल समेट्ने तयारी रहे पनि उनीहरु आजको छलफलमा सहभागि नभएका हुन् ।
















