महङ्गो आयोजनामा पैसा फसाएर देशलाई ऋणमा डुबाउनु राष्ट्रघात हो : महामन्त्री शर्मा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महङ्गो आयोजनामा पैसा फसाएर देशलाई ऋणमा डुवाउने काम भ्रष्टाचार मात्र नभई राष्ट्रघात भएको उल्लेख गरेका छन् ।
काठमाडौंमा शनिबार आयोजित ‘शासन र शासक’ नामक पुस्तक विमोचन कार्यक्रममा महामन्त्री शर्माले वितेको १५ ÷ २० वर्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस सबैको सरकार आएपनि सबैले आवश्यकताभन्दा बाहेकका परियोजनामा पैसा फसाउँने काम गरेको भन्दै फेरि त्यही कार्य दोहोर्याउने हो भने राष्ट्रप्रतिको घात हुने बताए ।
उनले भने, हामी अर्बौको एयरपोर्ट बनाउँदा कुन स्थानमा सबैभन्दा आवश्यकता थियो त्यो सोच्न सक्दैनौ त्यो भ्रष्टाचार हो । पोखराबाट नवलपरासीको भूमितिर ६५ किलोमिटर फास्ट ट्रयाक जोड्दिएको भए । त्यो दुईवटा एयरपोर्ट नजिक पर्ने थियो नि, अब कसलाई भन्ने कसलाई दोष दिने । वितेको १५, २० वर्षमा गणतन्त्रपछि सबैभन्दा बढी अवधि एमालेकै थियो । त्यसपछि हामी अनि माओवादी छ । यदि अब फेरि पनि लहडको आयोजना बनाएर पैसा फसाएर देशलाई ऋणमा फसाउँने हो भने त्यो भ्रष्टाचार मात्र होईन्, त्यो राष्ट्रघात हुन्छ । ’
महामन्त्री शर्माले जतिसुकै योग्य व्यक्ति भएपनि दुई पछाडि तीन बन्न नहुने व्यवस्था गर्ने हो भने देशमा भएका एक सय एक व्यक्तिले काम गरेर देखाउने मौका पाउने बताए ।
उनले जतिपटक मन्त्री, प्रधानमन्त्री बनेपनि हुन्छ भन्ने नेपाली राजनीतिमा देखिएको प्रवृत्तिलाई परिवर्तन गर्न आवश्यक भएको पनि बताए ।
उनले भने, मन्त्री बन्ने प्रधानमन्त्री बन्ने कतिपटक बन्ने टुङ्गो नै छैन्, छोड भनेर संविधानले, कानूनले, विधिले भनेकै छैन् । बसिराख्छु भन्ने खालको प्रवृत्ति छ । एकपटक राष्ट्रपति भएपनि नदोहोर्याउँने र दुईपटक प्रधानमन्त्री भएपछि तीनपटक नपाउने, तीन पटक मन्त्री भएपछि चार पटक बन्न नहुने, चार पटक सांसद भएपछि विदा दिने सिस्टम बनाउन यो देशमा धेरै योग्य मानिसहरु छन् । जतिसुकै योग्य व्यक्तित्व होस दुई पछाडि तीन बन्नु भएन यही कुरा पहिलै बनाइ दिएको भए मलाई पनि मेरो पार्टीमा सहयोग मिल्ने थियो । मेरै सभापतिले अब एकपाली भन्ने अवस्था हुदैँन थियो होला । ’
महामन्त्री शर्माले देशको नीति मात्र सहि भएर देश नबन्ने उल्लेख गर्दै सरकारले नीति सँगसँगै थिति र नियम पनि परिर्वतन गर्न जरुरी भएको बताए ।
उनले भने, देशले लिएको नीति सहि छ, तर नीति सहि भएर मात्रै जनताको नियति बदलिदैँन् । नियति बदल्नको लागि नीतिसँगै थिति बदल्नु पर्छ । र, योसँगै नियम पनि बदल्नु पर्छ त्यो विषयमा यो पुस्तकले झकझकाएको छ । राजनीतिज्ञहरुलाई ऐन देखाउनको लागि यो पुस्तक महत्वपूर्ण देखिन्छ । निर्वाचनपछि नयाँ सन्दर्भमा आएका छौ, निर्वाचन भयो, केन्द्रीय सरकार भन्यो दलहरु कोही सत्तामा कोही प्रतिपक्षमा होला, ७ वटा प्रदेश सरकारहरु बन्यो, ७५३ वटा गाँउ नगरका प्रमुखहरुका संरचना बनेका छन् । जनताका छोरा, छोरी निर्वाचित भएका छन् यो बेलामा शासन शैली प्रत्येक केन्द्रदेखि वडा तहसम्मको सरकारले शासनको शैली बदल्नु पर्छ । हामी सबै प्रश्नको घेरामा रहनु पर्छ । यो अवस्थामा यस्तो खालको पुस्तक आउँदा बहसमा केन्द्रीय भावना ल्याउछ । ’















