बजेट विहान १० बजेट प्रस्तुत गर्न सांसद दीपक गिरीको माग
काठमाडौं । नेपाली काँग्रेसका सांसद दीपक गिरीले सरकारले एक दिनको कारोबार पूरै ठप्प हुनेगरी बजेट ल्याउने गरेको भन्दै बिहान १० बजे बजेट प्रस्तुत गर्न माग गरेका छन् ।
आइतबार प्रतिनिधिसभामा सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेट माथि टिप्पणी गर्दै गिरीले पूरै एक दिन कारोबार बन्द गरेर अर्थतन्त्रमा क्षति पुर्याउन नहुने धारणा व्यक्त गरे ।
उनले भने ‘ ‘वार्षिक २० खर्बको अन्तर्राष्ट्रिय ब्यापार गर्ने देशले एक दिन कारोबार रोक्दा कति रकम गुमाइरहेको होला अनुमान गरौं । म सबै सरकार पक्ष र प्रतिपक्ष दलका माननियहरुलाई यस विषयमा विचार गर्न आग्रह गर्दछु । र, आगामी वर्षदेखि कारोबर नरोकी बिहानै बजेट ल्याउने प्रथाको सुरुवात गरौं’, ।
सांसद गिरीले अहिलेको युगमा देशको स्वाभिमान र शक्ति अर्थतन्त्रसँग जोडिएको चर्चा गर्दै अर्थतन्त्र सुधार गर्न सबै मिलेर राष्ट्रिय सहमतिको प्रयास गर्नु पर्ने बताए ।
उनले भने ‘अहिले नेपाली अर्थतन्त्र सिथिल बनेको छ । अर्थतन्त्रलाई जनाउने सूचकहरु बलिया देखिएका छन् । रेमिट्यान्स बढेको छ । सोधानान्तर बचत राम्रो भएको छ । बैदेशीक ब्यापार ठिकठाक छ । सेवा क्षेत्रको विस्तार हुँदैछ । सबैभन्दा ठूलो समस्या रहेको डलर सञ्चिति करिब १५ अर्ब पुग्न लागेको छ । यसका बाबजुद बजार चलायमान नहुँनुको कारण के होला ? यसलाई खोज्नु पर्ने काम हामी सबैको होइन । यो समस्या ठीक गर्न के गर्ने भन्ने विषयले बजेटमा प्राथमिकता पाउनु पर्ने थियो । त्यो भएन ।’














