सडक चेतना अभियानमा ६ सय ८६ चालक सहभागि
काठमाडौ । ट्राफिक प्रहरीले सञ्चालन गरेको सडक सुरक्षा अभियानमा ६ सय ८६ चालक सहभागि भएका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाभित्रका बिभिन्न ठाउँमा सडक सुरक्षा अभियान सञ्चाल गदै आएको छ । कार्यक्रममा चालकहरूलाई मादक पदार्थ सेवन, लागुऔषध सेवन, र ढोका खुल्ला गरी सवारी चलाउँदा हुने दुर्घटना र त्यसबाट हुने धनजनको क्षतिका सम्वन्धमा जानकारी गराइएको थियो । त्यस्तै, तिव्र गति, आरक्षण सिट, रातो बत्ती, फुटपाथ पार्किङ, सडक लेन लगायतका विविध ट्राफिक नियम तथा कानूनका बारेमा पनि उनीहरुलाई सजग गराइएको थियो ।
ट्राफिक कार्यालयका अनुसार कालिमाटीमा १ सय ५०, कमलविनायकमा १ सय १०, नगरकोटमा ६०, सातदोबाटोमा ५७, थापाथलीमा ४८, सोह्रखुट्टेमा ४०, साँखु र कीर्तिपुरमा ३०–३०, नयाँबसपार्क, कपन, भक्तपुर, नेपालटारमा २५–२५, फर्पिङमा २०, काँडाघारीमा १७, कमलपोखरीमा १५ र टोखामा ९ चालक अभियानमा सहभागि थिइ ।
ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतता अभिवृद्धि गर्ने उद्देश्यले चालक लक्षित चेतनामूलक कार्यक्रम गरिएको बताए ।
ट्राफिक प्रहरी कार्यालयमै सहभागि गराएर कार्यक्रम गर्दा समय अभाव हुने भएकाले ‘अन द स्पट’ चेतनामूलक कार्यक्रम गरिएको एसएसपी भट्टले जानकारी दिए ।














