ओलम्पिक छनोट : नेपाल भियतनामसँग पराजित
काठमाडौं । पेरिस ओलम्पिकका लागि काठमाडौंमा भएको एसियाली छनोटमा नेपाल भियतनामसँग ५–१ गोल अन्तरले पराजित भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा सुरुदेखि नै दवाबमा आएको नेपालका लागि एकमात्र गोल सावित्रा भण्डारीले फर्काए पनि हार टार्न पर्याप्त भएन ।
११ औं मिनेटमा भियतनामले अग्रता लिएको थियो । उसका लागि फाम हाइ यनले हेडर गोल गर्दै अग्रता दिलाएकी थिइन् । ३६ औं मिनेटमा भियतनामले अग्रता दोब्बर बनाएको थियो । नेपाली खेलाडीले डिबक्समा ह्यान्ड गरेपछि पाएको पेनाल्टीलाई भियतनामकी कप्तान हुन्हु न्हुले गोल गरिन् ।
लगत्तै भियतनामले तेस्रो गोल गरेको थियो । थि बीच थुएले प्रहार गरेको बल अमृता जैशीलाई लागेर गोलमा परिणत भएको थियो । पहिलो हाफमा ३ गोलको अग्रता लिएको भियतनामले दोस्रो हाफमा २ गोल थप्दा १ गोल नेपालले पनि फर्काएको थियो ।
४८ औं मिनेटमा भियतनामले चौथो गोल गरेको थियो । कप्तान न्हूले हेडर गोल गरिन् । उनको व्यक्तिगत दोस्रो गोल रहेको थियो । ७९ औं मिनेटमा नेपालका लागि सावित्रा भण्डारीले गोल गरिन् । अतिरिक्त समयको पहिलो मिनेटमा गुए थि थान न्हाले उत्कृष्ट गोल गर्दै ५-१ को जित पक्का गरिन् ।














