एशियामा नाटो विस्तारविरुद्ध चीन र रुस सहमत
|
Getting your Trinity Audio player ready...
|
मस्को । चिनियाँ राष्ट्रपति सी चिनफिङले बुधबार मस्कोको राजकीय भ्रमण पूरा गरेका छन्।
भ्रमणका क्रममा उनले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग अमेरिकाले अपनाएको इन्डो–प्यासिफिक रणनीतिको सामना गर्न ‘समान, खुला र समावेशी सुरक्षा प्रणाली’ निर्माण गर्ने सहमति गरेका छन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुई देशबीचको सम्बन्धमा नयाँ युगको शुरुवात भएको बताएका छन् । यसका साथै पश्चिमा मुलुकहरूले एसियामा नर्थ एट्लान्टिक सन्धि संगठन (नाटो) विस्तार गर्ने विषयमा पनि दुई देशबीच छलफल भएको थियो ।
रिपोर्टका अनुसार दुवै नेताले यसबारे चिन्ता व्यक्त गर्दै यसमार्फत अमेरिकाले आफ्नो प्रभाव बढाउन खोजेको बताएका छन् ।
एशियामा नाटोको विस्तारको बिरूद्ध एकजुट हुन दुवै देश सहमत भएका छन् । सीले पुटिनसँग लामो छलफल गरेका थिए, त्यसपछि नेताहरूले ‘नयाँ युगको समन्वयका लागि बृहत् रणनीतिक साझेदारी’ र ‘चीन–रूस आर्थिक सहयोगमा प्राथमिकताहरूमा २०३० पूर्व विकास योजना’ लाई अझ मजबुत बनाउन सहमति पनि गरेका छन् ।
रुस–युक्रेन युद्ध रोक्न चिनियाँ राष्ट्रपति सी जिनपिङले पुटिनको अगाडि शान्ति प्रस्ताव पनि राखेको बताइएको छ । जसलाई पुटिनले मानेनन् । तर, यो शान्ति प्रस्ताव प्रदर्शनका लागि मात्रै भएको बताइएको छ ।
चीन हरेक हिसाबले रुसको साथमा छ र यो भ्रमण विश्वलाई देखाउन पनि हो । यसबाट चीनले रुसलाई एक किसिमले समर्थन गरिरहेको छ ।
चिनियाँ राष्ट्रपतिसँगको भेटपछि पुटिनले युक्रेनका विषयमा वार्ताका लागि आफू तयार रहेको बताए । पुटिनले युद्धका सम्बन्धमा चीनले दिएको १२ बुँदे शान्ति प्रस्तावको पनि प्रशंसा गरेका छन् ।
सी जिनपिङसँगको वार्तापछि पुटिनले भने, ‘चीनले प्रस्तुत गरेको शान्ति योजनाका धेरै प्रावधानहरूलाई शान्तिपूर्ण समाधानको आधारका रूपमा लिन सकिन्छ । तर यो तब मात्र हुन सक्छ जब युक्रेन र यसलाई समर्थन गर्ने अन्य पश्चिमी देशहरू यसका लागि तयार हुन्छन् । तर, अहिलेसम्म उनीहरुको तर्फबाट त्यस्तो तयारी हामीले देखेका छैनौँ ।’
अर्कोतर्फ युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले पनि चिनियाँ राष्ट्रपति सी जिनपिङलाई वार्ताको निम्तो दिएका छन् ।
एक विज्ञप्ति जारी गर्दै जेलेन्स्कीले भने कि कीभले चीनलाई वार्ताका लागि निमन्त्रणा दियो र बेइजिङको जवाफ पर्खिरहेको छ । जेलेन्स्कीले भने, ‘हामीले चीनलाई शान्ति सूत्र कार्यान्वयनमा साझेदार बन्न प्रस्ताव गरेका थियौं । हामीले हाम्रो सूत्र सबै च्यानलहरूमा पारित गर्यौं। हामी तपाईंलाई अन्तरक्रिया गर्न आमन्त्रित गर्दछौं। हामी तपाईको जवाफको लागि पर्खिरहेका छौं।
यद्यपि, संयुक्त राज्य अमेरिकाले भने कि उसले चीनलाई निष्पक्ष मध्यस्थ हुन सक्षम ठान्दैन । द्वन्द्व अन्त्य गर्ने प्रयासमा बिचौलिया बन्ने बेइजिङको उद्देश्यको वाशिङ्टनले आलोचना गरेको छ ।
वार्तापछि पुटिन र सी जिनपिङले अमेरिकाको आलोचना गरेका छन् । संयुक्त विज्ञप्तिमा दुई नेताले संयुक्त राज्य अमेरिकाले विश्वव्यापी सुरक्षालाई कमजोर बनाएको आरोप लगाउँदै पश्चिमी राष्ट्रहरूलाई आलोचना गरेका छन् ।
‘पक्षहरूले संयुक्त राज्य अमेरिकालाई आफ्नो एकपक्षीय सैन्य फाइदा सुरक्षित गर्न अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षा र विश्वव्यापी रणनीतिक स्थिरतालाई कमजोर पार्न रोक्न आह्वान गर्दछ,’ रूस र चीनले जारी गरेको वक्तव्यमा भनिएको छ ।
उनले एसियामा नाटोको बढ्दो उपस्थितिमा पनि ‘गम्भीर चिन्ता’ व्यक्त गरे । सी र पुटिनले साढे चार घण्टा कुराकानी गर्दै एकअर्कालाई ‘प्रिय साथी’ भनेका थिए ।
चीन र रुसले संयुक्त राष्ट्र सुरक्षा परिषद्मा प्राय पश्चिमाहरूको सामना गर्न स्थायी परिषद सदस्यहरूको रूपमा आफ्नो भिटो शक्ति प्रयोग गर्दै आएका छन् ।












