आफैँले भोगेको जीवन कथाले चार वटा विधामा अवार्ड थापेपछि दङ्ग, निर्देशक बिडारी
काठमाडौं । चलचित्र ‘ऐना झ्यालको पुतली’ले चार वटा विधामा अवार्ड थापेपछि, कार्यक्रमा यसका निर्देशक सुजित बिडारीलाई बधाई नदिने सायदै केही थिए होलान् ।
अन्तर्राष्ट्रिय चलचित्र महोत्सव निफमा बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ले उत्कृष्ट फिचर फिल्म, निर्देशक, पटकथा र स्पेसल मेन्सन अवार्ड पाएको छ । ४ वटा विधामा अवार्ड जित्दा निर्देशक बिडारीले आफूले गरेको कामको कदर हुँदा निकै खुसी लागेको मात्रै सुनाएनन् सुटिङको क्रममा गरेको दुःख यतिबेला झलझली आखाँमा आइरहेको बताए ।
‘ऐना झ्यालको पुतली’ मार्फत उत्कृष्ट निर्देशक र पटकथा लेखक गरी दुई विधाको अवार्ड निर्देशक आफैँले हात पारे । फिल्मकै बाल–कलाकार दिनेश खत्रीले स्पेसल मेन्सन चाइल्ड एक्टरको अवार्ड पाउँदा यो चलचित्रले सोमबार सम्पन्न छैटौँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा चार वटा अवार्ड जित्दै उत्कृष्ट फिचर फिल्म घोषित भयो ।
कार्यक्रममा उत्कृष्ट निर्देशकको रूपमा निफको पुरस्कार लिन पुगेका उनी दङ्ग देखिएका थिए ।
नेपाल टुरिजम बोर्डका प्रतिनिधिका रूपमा पुगेका मनिराज लामिछाने र चलचित्र क्षेत्रका जाने माने निर्देशक नवल नेपालको हातबाट अवार्ड थापेका उनले पुरस्कारले थप काम गर्ने प्रेरणा मिलेको बताए ।
पुरस्कार लिएपछि मञ्चबाटै उनले निफ जस्ता महोत्सवको आवश्यकता रहेको भन्दै त्यसले फिल्म बनाउन लाग्नेहरूलाई ऊर्जा प्रदान गरेकोमा धन्यवाद दिए । उनले आफ्नो टिमलाई सम्झिँदै भने, ‘कार्यक्रममा मेरा क्रु मेम्बरहरु धेरै आउन सक्नुभएको छैन् । उहाँहरु यहाँ हुनुभएको भए त्यो सुटिङको बेलामा गरेको दुःखलाई हल्का महशुुस गर्नुहुन्थ्यो होला ।’ उनी पुरस्कार बोकेर आफू बसेको हलको छौटौं रोमा मुस्कुराउँदै पुगे । तर, त्यसको उन्नाइस मिनेट पनि नपुग्दै पुन उनलाई बेस्ट नेसनल फिचर फिल्म डिरेक्टरका लागि पुरस्कार लिन स्टेजमा बोलाइयो । तालीले हल गुञ्जायमान बन्यो । उनी हाँस्दै पाइन्टको देब्रे गोजीमा हात हालेरै स्टेज उक्लिए ।
यो पटक उनले खासै बोल्न चाहेका थिएनन् तर कार्यक्रम सञ्चालिकाले बोल्न आग्रह गरेपछि उनले शब्द सिद्धिएझैँ गरी भने ‘भन्ने कुरा नै के छर ! भनिहालियो अघि, (लामो मुस्कानका साथमा) सबैलाई धन्यवाद । आफ्नो त्यो दुःखको अलिकति मान्यता हुँदा खेरी, कदर हुँदा खेरी दुःख सबै बिर्सिएर हल्का भइन्छ ।’
अन्तमा थपे यस्ता इभेन्टहरू भै राख्नुपर्छ । स्टेजबाट जाँदै गर्दा उनलाई पहिलो पङ्क्तिमा बसेका धेरै कलाकार, फिल्म मेकर लगायतले बधाई दिए ।
उनले त्यो क्षण बधाई लिँदैमा भ्याई नभ्याई देखियो । उनीसंगै उनको आधा जति उपस्थित टोलीका सदस्यले त्यो खुसीलाई आपसमा साटे। त्यो क्रम जारी नै थियो ।
व्यस्तताकै बीच छोटो प्रतिक्रिया दिँदै बिडारीले चार विधामा आफ्नो फिल्मले अवार्ड पाएपछि खुसी व्यक्त गर्दै सुनाए ‘ऐना झ्यालको पुतली बनाउँदा निफमा मात्रै हैन् अन्त पनि फेस्टिवलमा गएर अवार्ड पाइएला भनेर कहिल्यै सोचेकै थिएनौ । फिल्म बनाउँदा हामीले नन–प्रोफेसनल (गैर व्यावसायिक) त्यो पनि साना बालबालिकासँग काम गर्दा अलि धेरै चुनौती आएको थियो । सुटिङको दिन पनि लम्बिएको थियो । तर, बिस्तारै काम गर्दै जाँदा त्यहीँ कुरा नै रमाइलो हुँदै आयो ।’ उनले आफ्नो फिल्म बनाउँदाको समयलाई सम्झिए ।
आफैँले भोगेको बाल्यकाललाई पर्दामा उर्तादा उत्कृष्ट निर्देशक र पटकथा लेखकको दर्जा पाउनुभयो,भोगाइलाई पर्दामा उर्ताछु भन्ने सोच कसरी आयो भन्ने प्रश्नमा उनले भने ‘हामीले हाम्रो समाजमा भएको कथाहरूलाई नियालेर हेरिरहेको हुदैनौं । यो पनि कथा हुन्छ र भनेर इग्नोर गरिरहेका हुन्छौँ । सिनेमा पढेर कथा के हो भनेर बुझ्दै जाँदा कथा हाम्रो दैनिक जीवनमा हुने रहेछ, कथा हाम्रै घरभित्र र समाजमा हुने रहेछ भन्ने देखेपछि आफूले भोगेर आएको जिन्दगीमा पनि कथा छ त, यसमा पोटेन्सियल छ भन्ने लाग्यो । एक त आफ्नो भोगाई भयो अर्को राम्रो कथा हुनसक्ने सम्भावना देखेर ‘ऐना झ्यालको पुतली’ बनाए ।’
ऐना झ्यालको पुतली एक सानो गाउँले परिवारको कथा हो । नेपाली समाजमा धेरैले भोगेको जीवनको एक पाटो हो, जसलाई धेरै नेपालीले आफ्नो जीवनमा रिलेट गर्न सक्छन् । अझ आम ग्रामीण भूभागमा बस्ने परिवार भित्र पनि छोरी र उसंग जोडिएर आउने पात्रहरुको जीवन भोगाइको कथा हो । लेखकले आफ्नो काम कस्तो हुन्छ भन्ने आफैंलाई थाहा नहुने बताउँदै अरुले बुझेर त्यसलाई कदर गरिँदिदा गर्व लागेको सुनाए ।















