पेन्सिलभेनियाको दुई शहरमा छक्का पञ्जा-४ प्रदर्शन हुदै
पेन्सिलभेनिया,अमेरिका / नेपालमा राम्रो व्यापार गरेको नेपाली कथानक चलचित्र छक्का पञ्जा -४ अमेरिकाको विभिन्न शहरमा प्रदर्शन हुने भएको छ।
छक्का पञ्जा ४ को अमेरिका र क्यानडामा अधिकृत वितरक एभेरेस्ट इन्टरटेनमेन्टका सिइयो अपार श्रेष्ठका अनुसार पेन्सिलभेनियाका दुई शहरमा चलचित्र प्रदर्शन हुने छ।
श्रेष्ठका अनुसार ह्यारिसबर्ग तीन र फिलाडेल्फियामा एक सो राखिएको छ।
ह्यारिसबर्गमा मार्च २६ तारिक दुई सो हुने छ। पहिलो दिन चार र सात बजेको सो राखिएको छ। यस्तै मार्च २७ साँझ पाँच बजे अन्तिम सो हुने छ।
फिलाडेल्फियामा मार्च २६ साँझ पाँच बजे सो हुने छ। फिलाडेल्फियामा छक्का पञ्जा ४ प्रदर्शनीको जिम्मा पाएका जयन्द्र लामाका अनुसार शहरको रिगल सिनेमा हलमा नेपाली चलचित्र प्रदर्शन हुने छ।
लामाका अनुसार फिलाडेल्फियाको हलमा नेपाली चलचित्र प्रदर्शन हुन लागेको यो पहिलो अवसर हो।
अमेरिकाकै क्यालिफोर्नियाको सानफ्रान्सिस्को बे एरियामा मार्च पहिलो साता हाउस फुल प्रदर्शन भएको सुपरहिट चलचित्र छक्का पञ्जा-४ मार्च १९ मा रिचमण्ड र मार्च २८ मा सान्तारोजामा हुने संचारकर्मी पवन पौडेलले जनाएका छन्।
यस्तै टेक्सासको तीन शहरमा छक्का पञ्जा -४ प्रदर्शन हुने छ। हुस्टनमा मार्च १८ र मार्च २० तारिक दुबै दिन साँझ पाँच बजे एक एक सो हुने छन्।
टेक्सासकै वाको र अस्टिनमा पनि चलचित्र प्रदर्शन हुने छ। वाकोमा मार्च २६ तथा अस्टिनमा मार्च २५ र २६ मा सोको मिति तय भएको छ।
यस्तै मार्च १९ र २० तारिक मेरिल्याण्डको बाल्टमोरमा छक्का पञ्जा -४ लाग्ने छ। बाल्टिमोरको सो साँझ साढे ६ बजे शुरु हुने छ।
एभेरेस्ट इन्टरटेनमेन्टका रमेश भट्टका अनुसार न्यूयोर्कमा पनि तीन सो हुने छ। मार्च २६ तारिक दिउसो १२ बजे पहिलो सो हुने छ। यस्तै मार्च २७ तारिक दिउसो चार बजे र साँझ सात बजेका लागि सो निर्धारण गरिएको छ।
चलचित्रको टिकट अनलाइनमा बुक गर्न सकिने ब्यवस्था छ। अमेरिकाको जुनसुकै शहरको लागि अनलाइन टिकट खरिद गर्न यहाँ क्लिक गर्न सक्नु हुने छ।
हेमराज विसीको निर्देशन रहेको चलचित्रमा दीपकसँगै दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, निर्मल शर्मा, नीर शाह, मलिना जोशी, राज आचार्यलगायतको अभिनय रहेको छ।
चलचित्रको कार्यकारी निर्मातामा केदारप्रसाद घिमिरे र निर्मल शर्मा छन्।
नेपालमा पनि आक्रमक व्यापार शुरु गरेको छक्का पञ्जा ४ मा समसामयिक विषयवस्तु नै उठान गरेको निर्माताको भनाइ छ।
‘छक्का पञ्जा’ चारमा राजनीतिक र सामाजिक विषयलाई मुख्य विषयवस्तुका रूपमा देखाइएको छ। चलचित्रको अघिल्लो शृङ्खलाले पनि राजनीति, वैदेशिक रोजगारी, शिक्षा र प्रेमकथा जस्ता समान विषयहरूलाई समेटेको थियो।
सन् २०१६ मा पहिलो पटक चलचित्र छक्का पञ्जा प्रदर्शनीमा आएको हो। सोही बेला चलचित्र सफल भएको थियो। त्यस पछि दीपक र दिपाश्रीको जोडिले बनाएको चलचित्र ‘हिट’ हुदै आएको छ। बक्स अफिसमा यो दीपक र दिपाको चलचित्रले राम्रो कमाई गरेको थियो।
अमेरिका र क्यानडामा पनि यो चलचित्र सफल हुनेमा आफुहरु आशावादी भएको एभरेष्टका सिइयो अपारको भनाई छ।
छक्का पञ्जा प्रदर्शन हुने हल र टिकटको थप जानकारीका लागि यहाँ क्लिक गर्नु होला