नेम्वाङलाई मत माग्न समाजवादीको पार्टी अफिसमा एमाले नेताहरु
काठमाडौं / कुनै समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उनी निकट नेताहरु माधव कुमार नेपाल र उनको पार्टी एकीकृत समाजवादीको नाम लिन पनि रुचाउँदैनथे ।
अघिल्लो संसदमा रहेका बेला ओली एमाले अध्यक्ष तथा प्रधानमन्त्री र नेपाल नेकपा एमालेका वरिष्ठ नेता रहेका थिए । २–२ पटक ओलीले संसद् विघटन गरेपछि माधव कुमार नेपालले पार्टी नै विभाजन गरेर सर्वोच्च अदालतमा आफू पक्षका सांसदलाई उतारेका थिए भने अरु ४ दलका सांसदहरु पनि सर्वोच्चमा उपस्थित भएर निवेदन दिएका थिए ।
सोही कारण पनि सर्वोच्च अदालतले संसद विघटनलाई बैधता नदिएपछि औपचारिकरुपमा नेकपा एमाले विभाजन भएको थियो । एमालेबाट विभाजित भएपछि माधव कुमार नेपाल र झलनाथ खनालसहितका नेताहरु मिलेर ‘एकीकृत समाजवादी’ पार्टी गठन गरे । सोही पार्टी सरकारमा पनि गयो र पछिल्लो निर्वाचनमा पनि राष्ट्रिय पार्टी बन्न नसके पनि प्रत्यक्षतर्फ १० सिटमा जित निकाल्न सफल भयो । विगतमा ओलीले माधव कुमार नेपाल र उनको पार्टीको नाम एकीकृत समाजवादी उच्चारण गर्दा पनि आफूले ‘कुल्ला’ गर्ने बताउने गरेका थिए ।
संघीय चुनवापछि गठजोड नमिल्दा प्रचण्ड एमाले कित्तामा पुगेका बेला सबैकुरामा सफलता हासिल गरेको बताउने गरेका प्रचण्ड राष्ट्रपति पदको चुनावको मनोनयन दर्ता गर्ने दिनसम्म आइपुग्दा भताभुंग भएको छ । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको नेपाली कांग्रेस र एकीकृत समाजवादीसहितको गठबन्धन गरेर राष्ट्रपति पदमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार बनेका छन् ।
पौडेल माओवादीसहितको गठबन्धनबाट उम्मेदवार बनेपछि विच्किएको एमालेले अहिले सरकारको समर्थन र मन्त्रीहरुलाई फिर्ता बोलाई सकेको छ । एमालेले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ ।
मार्च ९ तारिखमा हुने राष्ट्रपति पदको चुनावका लागि तयारी भइरहँदा एमाले अध्यक्ष ओलीले माधवकुमार नेपाल र उनको पार्टीलाई सम्बोधन नै गरेर पत्र पठाएका थिए भने त्यसअघि पनि एमालेबाट राष्ट्रपतिको उम्मेदवार बन्न आग्रह गरेका थिए । उम्मेदवार बन्ने विषय एकीकृत समाजवादीले अस्वीकार गरेको थियो भने पत्रलाई स्वभाविक भनेर टिप्पणी गरेको थियो ।
एकीकृत समाजवादीले सचिवालको बैठक बुधबार बसेर राष्ट्रपतिको चुनाावमा पौडेललाई मत दिने निर्णय गरिसकेको छ । तर, बिहीवार एमालेबाट राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङसहित नेताहरु विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ लगाएत एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा पुगेर अध्यक्ष नेपालसँग भेट गरेका छन् ।
भेटमा एमाले नेताहरुले राष्ट्रपति निर्वाचनमा नेम्वाङलाई मत दिन आग्रह गरेका थिए । साथै पार्टी एकताको कुराहरु पनि भएको बुझिएको छ । तर, अध्यक्ष नेपालले अहिले आफू पौडेलको प्रस्तावक भएकाले मत दिने विषयमा प्रतिवद्धता नजनाएको एकीकृत समाजवादीका प्रचारविभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।