मत माग्दै रामचन्द्रले ८८२ जनालाई लेखे पत्र
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा ८ दलीय गठबन्धनका राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले मत माग्दै मतदातालाई चिठ्ठी लेखेका छन् ।
मार्च ९ तारिख(फागुन २५) मा हुन लागेको राष्ट्रपति पदको चुनावका लागि पौडेलसँगै एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् ।
चुनाव अघि नै ८ दलीय गठबन्धनका उम्मेदवार पौडेलको पल्लाभारी भए पनि उनले संघीय संसदका (प्रतिनिधि सभा, र राष्ट्रिय सभा) सदस्य र प्रदेशसभा सदस्यहरुलाई औपचारिकरुपमा चिठ्ठी लेखेर मत मागेका हुन् ।
राष्ट्रिय सभा र प्रतिनिधिसभाका गरी ३३२ जना र प्रदेश सभाका ५५० जना गरी कुल ८८२ जना सदस्य राष्ट्रपति पदका लागि मतदाता रहेका छन् । उम्मेदवार पौडेले सवैलाई छुट्टा छुट्टै पत्र लेखेर मत मागेका हुन् । ८८२ जना मतदाता मध्य उनी आफैले आफैलाई पनि पत्र लेखेका छन् ।
पत्रमा के छ त ?
प्रिय साथी,
नेपालका सबै मानिसको नैसर्गिक अधिकार स्थापनाका लागि मैले सानै उमेरदेखि सङ्घर्षको बेडा उठाउदै आए । फलतः निर्दलीय निरङ्कुश सत्तासँग म अलिकति पनि झुकिन र पञ्चायतको तीसबर्षे कार्यकालमा त्यसका आधा समय त मैले जेलमै बिताएको हुँ । बहुदलीय व्यवस्थाको पुनरागमन पछिका सत्ताका दिनहरुमा पनि कहीं कतै नचुकिकन देश र जनताको उन्नति, राष्ट्रिय स्वाधिनता र अस्मिताको लागि निष्ठापूर्वक सकेको सेवा गर्दै आएको र आफ्नो छविमा कतै दाग लाग्न नदिने भरमग्दूर कोशिस गर्दै आएको छु ।
शान्ति वार्ताको क्रममा होस वा संविधान निर्माण क्रममा होस् नेपाली जनताको मानवअधिकार, स्वतन्त्रता, दिगोशान्ति, आर्थिक सामाजिक न्याय र समुन्नतिलाई हृदयमा राखेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र संस्थागत गर्ने कुरालाई मैले आफ्नो लक्ष्य र उद्देश्य बनाउदै आएँ ।
म नेपालको वास्तविकतामा आधारित विकासको नमूना (मोडेल) अपनाउनु पर्छ भन्ने ठान्छु । बाटो, बिजुली, पानी, शिक्षा, स्वास्थ्य, सञ्चार गाउँ गाउँमा पुगिसक्दा पनि त्यहाँबाट बसाई सर्ने क्रम नरोकिएको र देशबाटै प्रतिभा र जनशक्तिको पलायन बढ्दै गएको अवस्थामा गाउँ गाउँमै रोजगारी र आम्दानीको अवस्था कसरी सिर्जना गर्ने भनेर चिन्तित छु । राजनीतिक विचारधाराको द्वन्द्वमा अल्मलिन नपरोस् भनेर समाजवादको सार “ निमुखालाई न्याय र विपन्नलाई आय“ सबैको साझा सिद्धान्त हुन सक्छ भनेर विनम्र अपिल गर्दछु । साथै, नेपाली जनतामा खुशियाली ल्याउने विकास हासिल गर्ने मुख्य आधार भनेकै स्थायित्व र सुशासन हो भन्ने मेरो अटल विश्वास छ ।
तसर्थ, सबै धर्म, संस्कृति, जात, वर्ग, लिङ्ग र समुदायको अधिकारको प्रत्याभूति रहेको वर्तमान संविधानको अक्षर र मर्मको परिपालना गर्दै परिवर्तनको जर्गेना गर्ने अठोटका साथ नेपाल राष्ट्रको राष्ट्रपतिको गरिमामय पदको लागि उम्मेदवारको रुपमा उपस्थित छु । नेपाली जनताका प्रिय प्रतिनिधि तपाईंको अमूल्य मतको अपेक्षा गरेको छु । जय नेपाल !