देश र जनताको सेवा गर्ने युवाहरूको खाँचो छ: प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश र जनताको सेवा गर्ने युवाहरूको खाँचो भएको बताएका छन् ।
बिहीबार बिहान काठमाडौंको टुंडिखेलमा आयोजित राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १७ औँ व्याच सिनियर डिभिजन तालिमको दीक्षान्त कवाजलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अनुशासित भई देश र जनताको सेवा गर्ने युवाहरूको खाँचो भएको बताएका हुन् ।
उनले भने ‘देशलाई “जननी जन्मभूमिश्च स्वर्गादपी गरीयसी” युक्तिलाई आत्मसाथ गर्दै चन्द्र र सूर्यअंकित झण्डाप्रति सदैव अनुशासित भई देश र जनताको सेवा गर्ने युवाहरूको खाँचो पर्दछ ।’
उनले आवश्यकताको अनुपातमा राष्ट्रिय दलको तालिमको मात्रात्मक उपस्थिति पर्याप्त नभएको भन्दै आगामी दिनमा संख्या वृद्घि गरी तालिमको गुणस्तरमा समेत ध्यान दिने प्रतिवद्घता व्यक्त गरे ।
उनले भने ‘राष्ट्रिय आवश्यकताको अनुपातमा राष्ट्रिय दलको तालिमको मात्रात्मक उपस्थिति पर्याप्त देखिँदैन। हाल विद्यमान ७७०० को संख्या बढाएर आगामी दिनमा तालिममा सहभागीको संख्या बिस्तार गर्नुपर्ने आवश्यकताप्रति नेपाल सरकार गम्भीर छ। आगामी दिनमा संख्या वृद्घि गरी तालिमको गुणस्तरमा समेत थप प्रभावकारिता ल्याइने प्रतिवद्घता व्यक्त गर्दछु।’
उनले युवाहरुमाथि सिंगो राष्ट्रको आशा र भरोसा रहेको भन्दै सर्वोत्कृष्ट समाजको निर्माणका लागि युवाहरुले आफ्नो मनोबल उच्च बनाउनुका साथै कुशल नेतृत्वको विकास, नैतिक आचरण र अनुशासनको पालना गर्दै आफ्नो समाज र राष्ट्रप्रतिको कर्तव्य बुझ्न आबश्यक रहेको बताए ।