भारतीय विदेश सचिवको नेपाल भ्रमणबारे सांसद पन्तको आपत्ती
काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले भारतीय विदेश सचिवले गरेको नेपाल भ्रमण र भेटघाटलाई लिएर संसदमा प्रश्न उठाएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले आजसम्म कसैको अधीनमा नरहेको देशका राष्ट्रपतिको नाम विदेशीको ट्वीटमा पढ्नुपर्ने र विदेश सचिव आउँदा भेटघाटका समाचार अखबारमा हेर्दा लाजमर्दो भएको बताए ।
‘राष्ट्रपतिको चुनावअघि भारतीय विदेश सचिव यहाँ आउँछन् । उनी प्रधानमन्त्री, परराष्ट्र सचिवलाई मात्र होइन राष्ट्रपति र पूर्वप्रधानमन्त्रीहरूसँग भेट गर्छन् । नेपालको राजदूत वा परराष्ट्र मन्त्रालयका सचिव भारत जाँदा यही किसिमको सहज भेटघाट हन्छ ?’ भन्दै प्रश्न गरेका थिए।
पन्तले ‘यो देशको राष्ट्रपतिको नाम विदेशीको ट्विटमा हेर्नु पर्ने विदेश सचिव आउँदा भेटघाटका समाचार अखबारमा हेर्दा लाजमर्दो हुन्छ । किन यस्तो हुन्छ?’ भनेर सोधेका थिए।
उनले विदेशका अधिकारीहरू र राजदूतहरूले गर्ने भेटघाटलाई नियमन गर्न सरकार र परराष्ट्र मन्त्रालयको ध्यानाकर्षणसमेत गराएका छन् ।