आईसीसी विश्वकप लिग टु क्रिकेट : नेपालले नामिबियालाई दुई विकेटले हरायो, कुशलको सतक
काठमाडौं । ओपनर कुशल भुर्तेलले अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा पहिलो शतक प्रहार गरेपछि, नेपालले आईसीसी विश्वकप लिग टु क्रिकेटमा नामिबियामाथि दुई विकेटको जित हात पारेको छ ।
कीर्तिपुर मैदानमा सोमबार नेपालले पाएको २ सय ८६ रनको लक्ष्य ४७ ओभर चार बलमा आठ विकेट गुमाएर पूरा गरेको हो।
लिग टु क्रिकेटमा नेपालले पार गरेको यो सबैभन्दा ठुलो स्कोर हो । त्यस्तै नामिबियालाई लिग टु मा नेपालले हराएको र नेपाली खेलाडिले बनाएको शतक पनि ओडिआइको पहिलो रेकर्ड हो ।
नेपाललाई जितका लागि ३ रन मात्र आवश्यक हुँदा आउट भएका भुर्तेलले ११३ बल खेल्दै १० चौका र ४ छक्का प्रहार गर्दै १ सय १५ रनको किर्तिमानी योगदान दिए ।
भुर्तेल ओडिआई र टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि शतक प्रहार गर्ने तेस्रो खेलाडी समेत बनेका छन् । यसअघि पूर्व कप्तान पारस खड्का र पूर्व उपकप्तान दीपेन्द्र सिंह ऐरीले यो रेकर्ड बनाएका छन् ।
नेपालले यसअघि २०१९ मा युएई विरुद्ध २५५ रनको लक्ष्य पुरा गर्दै जित निकालेको थियो । गत जुनमा लिग टु मै अमेरिका विरुद्ध २७५ रनको लक्ष्य पछ्याउँदा नेपालले स्कोर टाई गरेको थियो । गत वर्ष टीयू मैदानमा पपुवा न्युगिनी विरुद्ध २९३ रनको लक्ष्य पछ्याएको नेपाल २८६ रनमै समेटिएपछि पराजित भएको थियो ।
विशाल लक्ष्य पछ्याउने क्रममा नेपालका ओपनर आसिफ शेख दोस्रो ओभरमै खाता नखोली आउट भएपछि पारी सम्हाल्न आएका कुशल भुर्तेल र ज्ञानेन्द्र मल्लले ५० रनको साझेदारी गरे । ज्ञानेन्द्र ५३ रन हुँदा आउट भए । त्यसपछि भुर्तेल र कप्तान रोहित पौडेलले तेस्रो विकेटका लागि
कीर्तिमानी १३३ रनको साझेदारी गरे ।ओडिआईमा नेपाली खेलाडीको यो अहिलेसम्मकै ठूलो साझेदारी हो । यसअघि दीपेन्द्र र देव खनालले गत वर्ष टीयू मैदानमै पपुवा न्यु गिनी विरुद्ध १२९ रनको साझेदारी गरेका थिए । रोहितले ७६ बल खेल्दै ७ चौका र ३ छक्का मद्दतमा ७२ रन बनाए ।
नामिबियाका लागि रुबेन ट्रम्पलमेन र जान निकोल लोफ्टी एटोनले ३–३ विकेट लिए । बर्नानर्ड स्कोल्ट्ज र तांगेनी लुंगामेनीले समान १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोज्दै नामिबियालाई ब्याटिङको निम्तो दिएको थियो । जहाँ भान लिगेनले १३३ रन बनाएपछि नामिबियाले ५० ओभरमा सबै १० विकेट गुमाएर २८५ रन बनाएको हो ।
नेपालका लागि करण केसीले १० ओभरमा ६१ रन खर्चिएर ५ विकेट लिए । करणको यो एकदिवसीय अन्तराष्ट्रियमा तेस्रो ५ विकेट हो । एकदिवसीय अन्तराष्ट्रियमा तीन पाँच विकेट लिने करण पहिलो नेपाली खेलाडी हुन् ।
त्यस्तै छ महिना पछि मैदान फकिैएका सन्दीप लामिछानेले ३ विकेट लिए । लामिछानेले ६६ रन खर्चिएका थिए । सोमपाल कामी र कुशल मल्लले समान १÷१ विकेट लिए ।
सिरिजमा नेपाल २५ खेलमा २० अंक जोडेर छैटौं स्थानमा छ । नामिबिया ३१ खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
फोटो : क्यान