यती एअरलाइन्स दुर्घटनाः छ जनाको शवको डीएनए परिक्षण गरिने
काठमाडौं । यही माघ १ गते पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनामा परेर शव संकलन गरिएका ७१ मध्ये ६ जनाको डीएनए परिक्षण गरिने भएको छ ।
काठमाडौँ ल्याइएका ४८ मध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले जनाएको छ ।
अस्पतालका फरेन्सिकविद् डा तुलसी कँडेलले फरेन्सिक र फिङगर फ्रिन्टबाट ४२ जनाको शव पहिचान गरिएको बताए । ६ जनाको शव अब ‘डीएनए’ परीक्षणबाट पहिचान गरिने उनले बताए ।
‘६ जनाको शव अत्यधिक जलेको हुनाले हामीलाई फरेन्सिक र फिङगर फ्रिन्ट विधिबाट पहिचानमा समस्या भयो, त्यसैले डीएनए विधिबाट पहिचान गर्ने प्रक्रिया सुरु गरेका छौँ,’ उनले भने ।
नेपाल प्रहरीको प्रयोगशालामा शवको ‘डीएनए’ परीक्षण गरिने छ । उनले ‘डीएनए’ परीक्षणका लागि मृतक र मृतकका नातेदारको नमुना संकलन गर्ने कार्य भइरहेको जानकारी दिए।
यो विधिबाट शव पहिचान गर्न कम्तीमा २२ दिन लाग्ने छ । विमान दुर्घटनाका ४८ शव फरेन्सिक जाँचका लागि काठमाडौँ ल्याइएको थियो भने पोखरामा २२ शवको जाँच गरिएको थियो ।