अमेरिकाको क्यालिफोर्निया गोलीकाण्डका अभियुक्त मारिए, ७ जना घाइते अझै अस्पतालमा
क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली चलाएर १० जनाको हत्या गर्ने हतियारधारी मारिएका छन् ।
७२ वर्षका हु कान ट्रान नाम गरिएका ती हतियारधारी पुलिसको घेराबन्दीमा परेसंगै आफैंलाई गोली हानेको प्रहरीले जनाएको छ । उनी सवार रहेको सेतो भ्यानभित्रै उनले आफैंलाई गोली हानेको प्रहरीलाई उदृत गर्दै बिबिसीले उल्लेख गरेको छ ।
उनले के कारणले उक्त घटना घटाए भन्ने अनुसन्धानमै रहेको छ । तर अनुसन्धानकर्ताहरुले भने उनको मानसिक अवस्था र उनको अपराधिक विगतको बारेमा अनुसन्धान गरिरहेका छन् ।
घटना गराउनको लागि उनको कतिवटा र कस्ता हतियार प्रयोग गरेका थिए भन्ने पनि अहिलेसम्म खुलेको छैन । तर प्रहरीले उनको एक सेमी अटोमेटिक पेस्तोल प्रयोग गरेको र यसबाहेक अन्य हतियार पनि उनीसंग रहेको अनुमान गरेका छन् ।
चिनियाँ नयाँ वर्षको पुर्वसन्ध्यामा भएको यस घटनामा १० जनाले ज्यान गुमाएका छन् भने घाइते भएका १० जना मध्ये ७ जना अझै पनि अस्पतालमा उपचाररत छन् ।
तस्वीर स्रोतः एपी