संसदमा रवी लामिछानेको सम्बोधन, “आफ्ना मान्छे छुटाउन मलाई फोन नगर्नुस्”
काठमाडौँ । नवनियुक्त गृहमन्त्री रवी लामिछानेले संसदको पहिलो बैठकलाई सम्बोधन गर्दै आफ्ना मान्छेलाई छुटाउन मलाई फोन नगर्न आग्रह गरेका छन् ।
सोमबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले भष्टाचारका सम्पूर्ण पुराना फाइल खोल्नुपर्ने पनि बताएका छन् ।
निर्वाचनपछिको पहिलो प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारको न्यूनतम साझा कार्यक्रममा आफ्नो दलले यो विषयलाई राखेको र अब निर्मम भएर भष्टाचार नियमन्त्रणमा लाग्नुपर्ने बताए ।
उनले आफ्नो दललाई जनताले आशाको मत दिएको उल्लेख गरे । उनले भने– ‘पार्टीका रुपमा एउटा नयाँ पार्टीको उदय हुनु नेपालको राजनीतिक इतिहासमा त्यति ठूलो कुरा हैन होला । तर जुन समय अवधीभित्र हामीले जुन विश्वास प्राप्त गरेका छौँ, त्यो कुनै उम्मेदवारलाई दिएको मत्र मात्र हैन, अब यो देशमा परिवर्तन आवश्यक छ भनेर नेपाली जनताले बताएको घण्टीको ध्वनी हो । त्यो ध्वनीलाई यो सम्मानित संसदले सुन्नेछ र सिंगो देशले सुन्ने छ ।’
उनले आफ्नो दललाई आउने स्यावासीसँगै तपाईले पाएको मत निराशाको मत हो भनेर लान्छना लाग्दै आएको बताउँदै आफ्नो दलले पाएको मत आशाको मत रहेको बताए ।
नेपाली जनताले जानेर वा नजानेर नयाँ र पूराना दलहरुलाई ठिक्क मत दिएको बताउँदै नयाँलाई पनि धेरै नमात्तिने र पुरानालाई पनि सचेत गराउने तरिकाले मत दिएको बताए ।
जनताले दिएको जनमत अनुसार नै अहिलेको सरकार बनेको उल्लेख गरे । उनले सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रमबाट देश र जनताको पक्षमा परिवर्तन गर्न सकिने उल्लेख गरे ।
उनले आफ्नो कार्यकालमा कुनैपनि अनियमिता नगर्ने बाचा गर्दै भष्टाचारी वा अपराध कर्ममा लागेका मान्छेको अनुसन्धान प्रभावित पार्नका लागि आफूलाई नभन्न पनि उनले आग्रह गरे ।
उनले आफ्नो दलका कुनैपनि सांसदहरुबाट अनियमिता हुन नदिने भन्दै छातीमा हात राखेर प्रतिबद्धता ब्यक्त गरे ।















