गृहमन्त्री लामिछानेले हटाए अगुवा पछुवा गाडी, सधैँ ट्राफिक नियमको पालना गर्ने प्रतिबद्धता
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो सुरक्षार्थ खटिने अगुवा र पछुवा गाडी हटाएका छन् । आफू मात्र उच्च सुरक्षा घेरामा हिँडडुल गरेर नागरिक अपेक्षा पूरा नहुने बताउँदै उनले सुरक्षा टोली हटाएका हुन् ।
गृहमन्त्रीको सुरक्षामा प्रहरी निरीक्षकको नेतृत्वमा हुने टोलीलाई पनि घटाएर उनले प्रहरी नायब निरिक्षक (सई) को नेतृत्वको सुरक्षाकर्मी राखेका छन् ।
शुक्रबार साँझ फेसबुकमा उनले भनेका छन्, “उपप्रधानमन्त्री तथा गृहमन्त्रीको सवारीका क्रममा रहने अगुवापछुवा सुरक्षाकर्मी सहितको गाडी हटाएर मैले आजैबाट अगाडि एउटामात्र गाडी सुरक्षामा राख्ने निर्णय गरेको छु । भैपरी आउँदाको परिस्थितिलाई अपवाद मानिदिनु होला ।”
उनले आफू सधैँ ट्राफिक नियमको पालना गर्ने पनि बताएका छन् । “सडक लेन अनुशासन पूर्ण पालना गर्ने गराउने कुरामा प्रतिबद्ध छु । कुनै अकाट्य परिस्थिति आई पर्दाबाहेक म आफनो कार्यकालभरि नै यी नियम पालना गर्छु,” उनले भनेका छन् ।
साथै उनले व्यक्तिगत कामका लागि र बिदाको दिनमा आफ्नै सवारीसाधन प्रयोग गर्ने पनि बताए । “यदि कुनै अवस्थामा सरकारी सवारीसाधन प्रयोग गर्नुपरेमा त्यसको हिसाब राज्यलाई बुझाउने छु,” उनले भनेका छन् ।








