जनप्रतिनिधिहरू नीति निर्माणमा सक्रिय सहभागी हुनुपर्छ : तिमिल्सिना
काठमाडौं । राष्ट्रिय सभाका सदस्यहरुले सार्वजनिक नीतिहरु तर्जुमा गर्दा जनप्रतिनिधिहरुको अगुवाइ र सक्रिय सहभागितामा हुनुपर्ने बताएका छन् ।
राष्ट्रिय अनुसन्धान प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको एक गोष्ठिमा सहभागीहरुले राज्यका नीतिहरुको तर्जुमामा जनप्रतिनिधिहरूका साथै जनप्रतिनिधिमूलक संस्थाहरूको अहम् भूमिका हुने भएकाले जनप्रतिनिधिहरूको अगुवाइ र सुरुदेखिकै सक्रिय सहभागिता अपरिहार्य हुने बताएका हुन् ।
कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले अध्ययन अनुसन्धान विना नीति र ऐन बन्नाले कार्यान्वयन नहुने गरेको बताउँदै अब बन्ने नीतिहरुमा प्रतिष्ठानले भूमिका खेल्नुपर्ने र जनप्रतिनिधिहरु पनि त्यसमा सक्रिय सहभागी हुनुपर्ने बताए ।
कार्यक्रममा दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति मायाप्रसाद शर्मा, राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिल कुमारी रावल लगायतले सत्ता साझेदार दलहरुबीचमा समेत कानुन निर्माणको प्रक्रियामा राम्रोसँग सहकार्य नहुने गरेको भन्दै जनप्रतिनिधिहरु आफैंले पहल लिनुपर्ने बताए ।














