राष्ट्रबैंकमा रहेको ५ करोड पुराना भारतीय रुपैंया खोस्टा बन्ने सम्भावना !
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । सोमबार भारतको सर्वोच्च अदालतले सन् २०१६ मा भएको नोटबन्दीलाई सदर गर्दै फैसला सुनाएपछि नेपालको राष्ट्रबैंकमा रहेको ५ करोड ६ लाख भारतीय रुपैंया खोस्टा बन्ने सम्भावना बढेको छ ।
सन् २०१६ मा केन्द्र सरकारले ५०० र १ हजार दरका नोट पुर्ण रुपमा प्रतिस्थापन गर्ने निर्णय गरेको थियो । सरकारको उक्त निर्णय विरुद्द परेको रिटमा सर्वोच्चले आज फैसला सुनाउँदै त्यसलाई सदर गरेको हो ।
आदेशसंगै यस विषयमा भारतमा बहस सकिए पनि नेपालमा रहेका पुराना भारतीय नोटको भविष्यबारे अझै पनि अन्योल नै बाँकी छ ।
“यो फैसलासँगै नेपालसँग रहेको उक्त भारतीय रुपैयाँ कागजको खोस्टो बन्ने अवस्था बनेको छ” नेपाल राष्ट्र बैंकका एक अधिकारीले बताए ।
“नेपाल राष्ट्र बैंकले आफूसँग रहेका भारतीय नोट साट्न भारतको केन्द्रीय बैंकलाई पटक-पटक पत्राचार गरेका थियौं । तर, भारतले कुनै पनि सुनुवाइ गरेन ।”
भारतीय केन्द्रीय बैंकका अधिकारीहरुसँग प्रतिबन्धित भारु साट्ने विषयमा छलफल गरिए पनि त्यसले सार्थकता पाउन नसकेको ती अधिकारी बताउँछन् ।
राजस्वछली र कालोधन नियन्त्रणका लागि भन्दै सन् २०१६ मा ५०० र एक हजार दरका नोटमा भारत सरकारले प्रतिबन्ध लगाएको थियो । सरकारको उक्त निर्णयविरुद्ध भारतको सर्वोच्च अदालतमा रिट परेको थियो ।
यदि उक्त रिटको पक्षमा भारतको सर्वोच्च अदालतले फैसला सुनाएको भए नेपालका बैंकमा रहेका उक्त प्रतिबन्धित नोटले वैधता पाउने सम्भावना हुन्थ्यो । सोमबार सर्वोच्चको फैसलाले यस्तो सम्भावना सकिएको छ ।












