“मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स” सुरु हुँदै
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय रियालिटी शो “मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स” आयोजना हुने भएको छ । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा यो नयाँ रियालिटी शो सुरु हुन लागेको हो ।
यो शोमा सहभागि हुनको लागि प्रतियोगीहरुले विश्वभरबाट आवेदन दिन सक्नेछन् । आवेदन दिनको लागि सहभागिहरुको उमेर १८ वर्ष भन्दा माथि तोकिएको छ ।
सहभागी हुन चाहने विश्वभरका नेपालीभाषीले इन्ट्रा फाउन्डेशनको एप डाउनलोड गरेर रजिष्टर गर्न सक्नेछन्।
‘हामी हाम्रो संस्कृति जोगाउन एकजुट भएर लाग्नुपर्छ। हाम्रो पहिचान नै हाम्रो भाषा, संस्कृति, र दुखमा परेकाहरूलाई मद्दत गर्नुमा छ। फाउन्डेसनको मुख्य उद्देश्य पनि नेपाली मनोरञ्जन क्षेत्रमा सांगीतिक क्रान्ति ल्याउनु हो,’ फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले घोषणा सभामा भने ।
अनलाइनबाट प्राप्त आवेदनको प्राथमिक छनौट प्रक्रियापछि फाउन्डेसनले विश्वका विभिन्न स्थानमा अडिसन सञ्चालन गर्नेेछ। यी दुबै शोहरुको आवेदन दिने मिति जनवरी अन्तिम तारिक तोकिएको छ।
कम्पनीका अनुसार ‘मेरो भ्वाइस यूनिभर्स’को निर्णायक मण्डलमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजाता वर्मा, पुष्पन प्रधानजस्ता वरिष्ठ गायकहरू समावेश छन्। साथै ‘मेरो डान्स यूनिभर्स’को निर्णायक मण्डलमा मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बिसी, केकी अधिकारी, प्रियंका कार्की, र नरमन राई हुने जनाइएको छ।
यी शोहरु एलिन श्रेष्ठले निर्देशन गर्ने बताइएको छ। ‘मेरो भ्वाइस यूनिभर्स’ र ‘मेरो डान्स यूनिभर्स’ दुबैका विजेताले रु एक करोड, फस्ट रनरअपले रु ३० लाख र सेकेन्ड रनरअपले रु २० लाख पुरस्कार पाउने आयोजकले बताएको छ।












