रामचन्द्र पौडेल देउवाको प्रस्तावक बसे
काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेताको निर्वाचनमा नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई सघाउने भएका छन् । पौडेल सभापति देउवाको प्रस्तावक बसेका हुन् ।
१३ औँ महाधिवेशनमा देउवासँगै पार्टीको सभापतिका प्रत्यासी रहेका पौडेल १४ औँ महाधिवेशनमा संस्थापनइतर समूहको साझा उम्मेदवार बन्न नसकेपछि मतदान नै गरेनन् । उनी त्यहीबेला देखि देउवासँग नजिकिएका थिए ।
यसअघि आफैँ प्रधानमन्त्रीको दाबेदार रहेको भन्दै आएको पौडेलले संसदीय दलको नेताको निर्वाचनमा भने सभापति देउवाको प्रस्तावक बनेर आएका छन् । उपसभापति पूर्णबहादुर खड्का देउवाको समर्थक बसेका छन् ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालय पुगेका पौडेल भन्छन्, ‘अहिलेको असहज परिस्थितीमा नेपाली कााग्रेस भित्र विश्वासको वातावरण बनाउन आवश्यकता भएकाले मैले पार्टी सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेतामा प्रस्ताव गर्ने भएको छु । पार्टी सभापतिलाई संसदीय दलको नेतामा सर्वसहमत चयन गर्न सबैलाई आग्रह गर्दछु ।’
नेता पौडेलले नवनिर्वाचित कांग्रेसका सांसदहरुलाई पार्टी सभापति देउवालाई सर्वसम्मत संसदीय दलको नेता चयन गर्न आग्रहसमेत गरे।
















