सकियो प्रत्यक्ष तर्फको मतगणना, संसद्मा १२ दलको इन्ट्री
काठमाडौं । दोलखाको निर्वान परिणाम आएसंगै मङ्सिर ४ मा भएको निर्वाचन अन्तर्गत प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मत गणना सकिएको छ । १५ दिन लगाएर सकिएको गणना अनुसार प्रत्यक्षतर्फ सबैभन्दा धेरै सिट जितेर नेपाली कांग्रेस पहिलो दल बनेको छ ।
कांग्रेसले ५७ सिट जितेर पहिलो दल बन्दा दोस्रोमा नेकपा एमाले ४४ सिट जित्न सफल भएको छ । त्यसैगरी नेकपा माओवादी केन्द्र १८ सिट जित्दै तेस्रो दल भएको छ भने नेकपा एकीकृत समाजवादीले १० सिट जितेको छ ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ७, राप्रपा ७, जसपा ७, लोसपा ४ नागरिक उन्मुक्ति पार्टी १, जनमोर्चा १, नेमकिपा १, जनमत १ र स्वतन्त्र ५ जना सांसद निर्वाचित भएका छन् ।
संसद्मा १२ दलको प्रतिनिधित्व भए पनि थ्रेसहोल्डका कारण यी मध्ये ७ दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने सम्भावना देखिएको छ ।
यता समानुपातिक तर्फको मत गणना अन्तिम चरणमा पुगेको छ । समानुपातिक तर्फको मत गणनामा नेकपा एमाले सबैभन्दा धेरै मत ल्याएर पहिलो बनेको छ । सोमबार बिहानसम्मको गणनामा एमालेले २७ लाख ८८ हजार ३५६ मत ल्याएको छ भने कांग्रेसले २६ लाख ६० हजार २४६ मत पाएको छ ।
त्यस्तै माओवादी केन्द्रले ११ लाख ६२ हजार १२४, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ५४३,जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९४६ मत ल्याएको छ ।
जनमत पार्टीले ३ लाख ९४ हजार ५२३ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीले २ लाख ९४ ३६२ मत ल्याए पनि थ्रेस होल्ड कटाएको छैन ।
दलहरूले समानुपातिकतर्फ पाएको मतका आधारमा समानुपातिकतर्फका छुट्टै सांसद निर्वाचित हुन्छन् ।















