रोकियो पेट्रोलियम पाइपलाइनको काम, आयल निगमसंग धरौटी राख्ने सम्पत्ति भएन
काठमाडौं । अम्लेखगञ्ज- बरौनी पेट्रोलियम पाइपलाइनको काम ४ महिनादेखि रोकिएको छ । नेपाल आयल निगमसंग बैंक धरौटी राख्ने भौतिक सम्पत्ति नभएको कारण पाइपलाइनको काम रोकिएको हो ।
नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशन (आईओसी) लाई २९ अर्ब रुपैयाँ तिनुपर्ने छ । निगमले सो रकम बुझाउन नसक्ने र बैंक ग्यारेन्टी राख्न भौतिक सम्पत्ति समेत नहुँदा पाइपलाइनबाट पेट्रोल ल्याउने योजना अलपत्र भएको हो ।
निगमले पेट्रोल भण्डारणका लागि २ वटा ४१ लाख लिटरको ट्याङ्कीसहित प्राविधिक उपकरण खरिदका लागि तत्काल २ अर्ब ५० करोड रकम आवश्यक पर्ने जनाएको छ । तर निगमसँग सो रकम नहुँदा दोस्रो चरण अन्तर्गत पेट्रोलियम पाइपलाइनको काम सुरु हुन सकेको छैन ।
यसअघि निगमले पहिलो चरणमा ३ वर्षअघि २०७६ भदौ २४ गतेदेखि भारतको बरौनीदेखि बाराको अम्लेखगञ्जसम्म पाइपलाइनबाट डिजल ल्याउने गरेको छ ।
आयल निगम अम्लेखगञ्ज डिपोका प्रमुख प्रदीपकुमार यादवले सन् २०२४ जनवरीसम्म पाइपलाइनबाट पेट्रोल ल्याउने लक्ष्य भए पनि आईओसीलाई बुझाउने नगद रकम अथवा धरौटी राख्ने सम्पत्ति नहुँदा काममा ढिलाइ भएको बताए ।