धनगढीमा प्रदर्शनकारीहरूद्वारा निषेधाज्ञा तोड्ने प्रयास, प्रहरीले गर्यो हवाई फायर
धनगढी / धनगढी ५ हसनपुरमा ग्रेडरले कुल्चिँदा एक बालिकाको मृत्यु भएको विषयलाई लिएर आन्दोलन चर्किएपछि निषेधाज्ञा जारी गरिएको छ । स्थानीय प्रशासनले धनगढी बजार तनावग्रस्त बनेपछि बिहीवार साँझदेखि अनिश्चितकालीन निषेधज्ञा जारी गरेको हो ।
धनगढी उपमहानगरपालिका–५ स्थित हसनपुर–पिपल चौतारा सडकखण्डमा बिहीवार बिहान कालिका कन्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिएर कुल्चिँदा १५ वर्षीया चेतना साउदको मृत्यु भएको थियो । सोही विषयलाई लिइर मृतक बालिकाका आफन्त तथा स्थानीयबासीले प्रर्दशन थालेका थिए । बिहीवार दिनभरि प्रदर्शन गरेका उनका आफन्तहरूले शुक्रवार पनि प्रदर्शन जारी राखेका छन् ।
प्रदर्शनकारीले निषेधाज्ञा तोड्ने प्रयत्न गरेपछि प्रहरीले केही राउण्ड हवाइ फायर गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले पञ्चोदय माध्यमिक विद्यालय हसनपुरमा ८ कक्षामा अध्ययनरत बालिका साउदको घटनास्थलमै मृत्यु भएपछि प्रदर्शन चर्किएको जानकारी दिए ।
बालिका साइकलमा विद्यालय जाँदै गर्दा सडकको लेबल मिलाउँदै गरेको ग्रेडरले ब्याक गर्ने क्रममा ठक्कर दिएको थियो ।















