तिहारको अवसर पारेर पेन्सिलभेनियामा लगातार तीन वटा सांगीतिक कार्यक्रम हुदै
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
पेन्सिलभेनिया, अमेरिका । नेपालीको दोस्रो ठूलो महान पर्व तिहारमा अमेरिकाको पेन्सिलभेनियाबासीका लागि अझ धुमधाम हुने भएको छ।
तिहारकै छेको पारेर ल्यानक्यास्टरमा लगालग तीन वटा सांगीतिक कार्यक्रम हुने भएको छ। सबै भन्दा पहिला अक्टोबर १६ तारिकमा ‘दशै-तिहार धमाका’ हुने छ।
सो कार्यक्रममा गायकहरु राजेशपायल राई, मंगोलियन हटका राजु लामा तथा अभिनेत्री सरिता लामिछाने लगायतको सहभागिता रहने छ।
युवा व्यवसायी प्रेम बराल, मनिष उप्रेति र शा गुरुङले यो कार्यक्रम आयोजना गर्न लागेका हुन्। दशै र तिहारको बीचमा पारेर अक्टोबर १६ तारिक आइतवार मेनहाइम स्थित जङ्सन रोडमा रहेको जङ्सन सेन्टरमा साँस्कृतिक कार्यक्रम हुने छ। झण्डै सात सय दर्शक क्षमता भएको हलमा कार्यक्रम गर्न लागिएको हो।

आयोजक बरालका अनुसार दिउसो २ बजे देखि साँझ ८ बजे सम्म कार्यक्रम राखिएको छ। चर्चित कलाकार सहित स्थानीय कलाकारले मनोरञ्जन गराउने छन्।
दशैं तिहार भब्य मनाउन गतवर्षहरुमा जस्तै यस पटक पनि कार्यक्रम आयोजना गर्न लागेको बरालले बताए। ‘विदेशमा भए पनि चाडवाड त मनाउनै पर्यो, घर घरमा त छदैछ समुहमा पनि चाड मनाउने चलनलाई निरन्तरता दिन खोजिएको हो।’
कार्यक्रमको प्रवेस निशुल्क गरिएको छ। ‘खर्चको हामी आफै व्यवस्था गर्छौ, समुदायलाई चाडबाडमा रमाइलो गराउनु नै हाम्रो उदेश्य हो त्यस कारण प्रवेस शुल्क नराखिएको हो।’ बरालले भने, ‘गतवर्ष पनि हामीले निशुल्क नै गराएका हौ।’
सांगितिक कार्यक्रमको संचालन मनिष उप्रेतिले गर्ने छन्।
दशै तिहार लोक दोहोरी उत्सव
‘सँगै उत्सव मनाऔं’ भन्ने नाराका साथ अक्टोबर २२ तारिक शनिवार पेन्सिलभेनियाकै ल्यानक्यास्टरमा लोक दोहोरी घन्किने भएको छ। नेपाली गीत संगीतका ख्यातिप्राप्त गायक गायीकाले ल्यानकास्टरमा प्रत्यक्ष दोहोरी गाउन लागेको पहिलो पटक भएको आयोजकको भनाई छ।
ल्यानक्यास्टरबासी तर्फबाट प्रिमरोज लेन माउन्टभिलमा (सिट्को ग्यास स्टोर भन्दा लत्लो घर) (306 Primrose Lane Mountville, PA 17554) आयोजना हुन लागेको कार्यक्रममा चर्चित लोक गायक प्रेम राजा महत,भगवान भण्डारी र शान्ति भण्डारीले गाउने छन ।

यस्तै अभिनेत्री सरिता लामिछाने, अमृत रामदम, खिम मर्सङ्गी मगर, सजिन पुन र बिराज रामदामको पनि सहभागिता रहने छ।
दिउँसो दुई देखि साँझ ६ बजे सम्म हुने कार्यक्रममा प्रवेश मात्र होइन डिनर पनि निशुल्क व्यवस्था गरिएको आयोजकको भनाई छ।
सुपरस्टार भुवन केसी ल्यानक्यास्टरमा
नेपाली गीत संगीतका ‘दि किङ्ग’ गायक राजेश पायल राई र राजु लामा तथा लोक गीतका चर्चित हस्तिहरु सँग गाउदै नाचे पछि पेन्सिलभेनियाबासीले नेपाल चलचित्र बोर्डका अध्यक्ष सुपरस्टार नायक भुवन केसी सँग ‘डिनर’ सँगै खाने अवसर पनि पाउने छन्।
नेपाली एशोसियशन अफ पेन्सिलभेनियाले यो अवसर जुराउने भएको हो। एशोसियशनले दशैं तिहार शुभकामना साँझ आयोजना गर्दै छ। सोही कार्यक्रममा नायक केसीको सम्मान समेत गरिने एशोसियशनका अध्यक्ष नेरु गिरीको भनाई छ।
‘शुरुमा नयाक केसीको सम्मानमा भरत श्रेष्ठ र चन्द्र बान्तवाजीहरुले व्यक्तिगतरुपमा कार्यक्रम राख्न लाग्नु भएको रहेछ, तर नेपाली चलचित्रका सुपरस्टारलाई व्यक्तिगत भन्दा पनि संस्थागत नै सम्मान गरौ भनेर हामीले स्वामित्व लिएका हौं।’ समाज टाइम्स सँग गिरीले भने। ‘केसीजी सँग कुराकानी गर्न बाँकी नै छ, तर पनि उहाँले नेपाली चलचित्रमा पुर्याएको योगदानको सम्मानमा कदर पत्र र दोसल्ला ओढाउने कार्यक्रम राखेका छौ।’

अध्यक्ष गिरीका अनुसार ल्यानक्यास्टरको नमस्ते रेष्टुरेण्टमा कार्यक्रम हुने छ। ‘दुई घण्टाको समय छ,कार्यक्रमको खाका बनाउदै छौ, स्थानीय कलाकारको सांस्कृतिक कार्यक्रम पनि हुन्छ।’
एशोसिएशनका उपाध्यक्ष दिनेश न्यौपानेले कार्यक्रममा प्रवेसका लागि टिकट मूल्य नतोकिएको तर खर्च सहभागि बीचमा दामासायीले बेहोरिने बताए। ‘टिकटको मुल्य भन्ने छैन, डिनर पनि भएको हुदाँ कति खर्च निस्कन्छ त्यो हामी सहभागि बीचमा उठाउने सल्लाह भएको छ।’ समाज टाइम्स सँग न्यौपानेले भने।















