चौथो विश्व नेवा सम्मेलन अगष्ट पहिलो साता न्यूयोर्कमा
न्युयोर्क । चौथो विश्व नेवा सम्मेलन अगष्ट पहिलो साता न्यूयोर्कमा हुने भएको छ।
नेवा गुठी न्यूयोर्क तथा विश्व नेवा संघ अमेरिका च्याप्टरको संयुक्त आयोजनामा यो सम्मेलन हुन लागेको हो। सम्मेलन अगष्ट ५ देखि ७ तारिक सम्म न्यूयोर्कको क्वीन्सस्थित लग्वार्डिया प्लाजा होटलमा हुने छ।
सम्मेलनमा प्रवासमा पनि नेवारी कला, संस्कृति, सम्पदा र परंपराको निरन्तरताका बारेमा छलफल हुने जनाइएको छ। न्यूयोर्कमा नेवारी समुदायको बाहुल्यताको बाक्लो बसोवास छ।
संस्थाका अध्यक्ष बिजय मान सिंहका अनुसार सम्मेलनमा नेपालबाट वरिष्ट कलाकार मदन कृष्ण श्रेष्ठको सहभागिता रहने छ । सम्मेलनमा नेवारी कला नृत्य, भेषभुषा, खाना परिकार, साँस्कृतिक झाँकी, धिमे बाजा, लाखे नाच तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु समावेस गरिएको छ।
यस सम्मेलनले अमेरिकाभर छरिएर रहेका नेवारहरुलाई एक्यबद्द हुन सहयोग गर्नका साथै नयाँ पुस्तालाई नेपालभाषा, पहिरन तथा संस्कृतिसंग भावनात्मक सामिप्यता कायम राख्न महत्वपूर्ण भुमिका खेल्ने नेवा गुठीका पूर्व अध्यक्ष तथा संरक्षक समिर महर्जनले बताए । सममेलनलाई भव्य बनाउने सबैको भौतिक उपस्थितिको जरुरी भएकोले सबैलाई उपस्थितको लागि आह्वान गरेका छन् ।
साथै संस्थापक अध्यक्ष आदित्य महर्जनले अमेरिकी भूमीमा नेपाली नेवारहरूको एकता तथा सहकार्यको लागि यस सम्मेलनले नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेका छन् ।