अमेरिकी राज्य सांसद चुनाव : प्राइमरीमा डा. ह्यारी भण्डारी निर्विरोध
बाल्टिमोर । नेपालीमुलका एक मात्र अमेरिकी विधायक डाक्टर ह्रयारी भण्डारी मेरिल्याण्ड राज्यको डिस्ट्रिक्ट ८ को विधायकमा दोस्रो कार्यकालका लागि आफ्नो पार्टी भित्र निर्विरोध भएका छन्।
डेमोक्रेटिक पार्टीको आन्तरिक निर्वाचनमा भण्डारीलाई चुनौति दिइ खोजिरहेकी एनेल म्याक्कोलिम पछि हटे पछि भण्डारीलाई अब एकै पटक आम निर्वाचनको तयारीका लागि बाटो खुलेको हो।
“मेरिल्याण्ड राज्यको डिस्ट्रिक्ट ८ को विधायकमा दोस्रो कार्यकालका लागि मैले राखेको उम्मेद्वारीको आकांक्षा डेमोक्रेटिक पार्टीले अनअपोज्ड स्थितिमा अनुमोदन गरेको खुशीको खबर यहाँहरूसमक्ष बाँड्न चाहन्छु।” भण्डारीले शनिवार जारी विज्ञप्तिमा भनेका छन् “मलाई चुनौति दिइरहनुभएकी एनेल म्याक्कोलिमले उम्मेद्वारी फिर्ता लिएर अनअपोज्डस्थिति सिर्जना गरिदिनु भएको हो।”
“अब जुलाई १९ मा हुने डेमोक्रेटिक प्राइमरी एक औपचारिकता मात्र हुनेछ भने अब मैले नोभेम्बर ८ मा हुने जनरल इलेक्सनका लागि ध्यान केन्द्रित गरेर अगाडि बढ्न पाउँने भएको छु।” भण्डारीले लेखेका छन् । भण्डारीले सोही स्थानमा सोही पदमा एक कार्यकाल पुरा गरेका छन् । अमेरिकाको मूलधारको राजनीतिमा यो सहफलता पाउने भण्डारी पहिलो नेपाली हुन् ।
आम निर्वाचनमा अब भण्डारीको प्रतिस्पर्धा रिपब्लिकन पार्टीका क्याथिलन स्मेरोसँग हुने छ। स्मेरो बाल्टीमोर काउन्टी रिपब्लिकन पार्टीकी अध्यक्ष हुन् ।
भण्डारीले मेरिल्याण्डको डिस्ट्रिक्ट ८ मा हुने भए पनि यो निर्वाचन अमेरिका भरिकै नेपाली सुमदायको प्रतिष्ठाको चुनाव हुने भन्दै सबै सँग सहयोगको अपेक्षा गरेका छन्।
भण्डारीको विज्ञप्तिको पूर्ण पाठ
‘अनअपोज्ड’ भैयो प्राइमरीमा
हामी सबैलाई बधाइ अनि शुभकामना !
अब तयारी जनरल इलेक्सनको, अपेक्षा गर्दछु सबैको साथ, सहयोग र सद्भावको ।
————–
मेरिल्याण्ड राज्यको डिस्ट्रिक्ट ८ को विधायकमा दोस्रो कार्यकालका लागि मैले राखेको उम्मेद्वारीको आकांक्षा डेमोक्रेटिक पार्टीले अनअपोज्ड स्थितिमा अनुमोदन गरेको खुशीको खबर यहाँहरूसमक्ष बाँड्न चाहन्छु। मलाई
चुनौति दिइरहनुभएकी एनेल म्याक्कोलिमले उम्मेद्वारी फिर्ता लिएर अनअपोज्डस्थिति सिर्जना गरिदिनु भएको हो। यसका लागि म म्याक्कोलिन र यसक्षेत्रबाट उम्मेद्वार हुने अधिकार भएर पनि मलाई अनअपोज्ड छोडिदिने हजारौ रजिस्टर्ड डेमोक्रेट मित्रहरूलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु।
मैले यसलाई लामो समयदेखि यस क्षेत्रका आदरणीय मतदाताका लागि गरेको काम र पार्टीलाई अगाडि बढाउन निष्ठापूर्वक गरेको प्रयत्न तथा पार्टी नेतृत्वले
मप्रति गरेको विश्वासको अनुमोदनको रूपमा लिएको छु। यो स्थितिमा अब जुलाई १९ मा हुने डेमोक्रेटिक प्राइमरी एक औपचारिकता मात्र हुनेछ भने अब मैले नोभेम्बर ८ मा हुने जनरल इलेक्सनका लागि ध्यान केन्द्रित गरेर अगाडि बढ्न पाउँने भएको छु।
यसपटकको चुनावमा प्राइमरीमा मलाई राहत मिले पनि जनरल इलेक्सन मूलत: दुई कारणले अत्यन्तै प्रतिस्पर्धी बन्न पुगेको छ। पहिलो, मेरो निर्वाचन क्षेत्र रिम्यापिङ भएर ५ प्रिसिङ्ट डिस्ट्रिक्ट ७ मा परेका छन् भने डिस्ट्रिक्ट ६ का ५ प्रिसिङ्ट मेरो क्षेत्रमा आएका छन्। यसरी आएका प्रिसिङ्टहरू मेरा लागि नयाँ छन् र अझै पनि यिनीहरुको डेमोग्राफिक चित्र प्रष्ट भैसकेको छैन। दोस्रो, मेरो प्रतिस्पर्धीका रूपमा रिपब्लिकन पार्टीले बाल्टीमोर काउन्टी रिपब्लिकन पार्टीकी अध्यक्ष क्याथिलन स्मेरोलाई मैदानमा उतारेको छ।
म यी दुबै कुरालाई ध्यानमा राख्दै मेरो निर्वाचन क्षेत्रको वस्तुगत स्थितिलाई समेत केन्द्रमा राखेर आफ्नो चुनावी अभियानलाई अगाडि बढाउने छु। म आफूले विगत चार वर्षमा गरेका काम र यस्तै काम गर्ने प्रतिवद्धता लिएर मतदातामाझ जानेछु ।
मेरिल्याण्डको डिस्ट्रिक्ट ८ मा हुने भए पनि यो निर्वाचन अमेरिका भरिकै नेपाली सुमदायको प्रतिष्ठाको चुनाव हुनेछ।
अहिलेका लागि मेरो जीत अमेरिकामा नेपालीकै जीत हो र यो जीत जोगाउन सकियो भने अन्य ठाउँमा पनि यो दोहोर्याउन सकिन्छ भन्ने विश्वास जगाउने अवसर पनि हो। त्यसैले मेरो यस उम्मेद्वारीलाई अमेरिका भरिकै नेपाली समुदायको प्रतिनिधिमुलक उम्मेद्वारीको रूपमा लिएर नैतिक, भौतिक, भावनात्मक सबै खालको सद्भावपूर्ण साथ र सहयोगका लागि सादर अनुरोध गर्दछु।
सधैंझै यसपटक पनि यहाँहरू सबैको साथ, सहयोग र सद्भावको हार्दिक अपेक्षा राखेको छु।
यहाँहरू सबैको आशीर्वाद र सद्भावको अपेक्षासहित,
डेलिगेट ह्यारी (एच.बी.) भण्डारी, पीएचडी
सदस्य, मेरिल्याण्ड हाउस अफ एसेम्बेली, डिस्ट्रिक्ट ८