अमेरिकामा तेक्वान्दोको अर्को “इनिङ्ग”शुरु गर्दै बिनिता
ह्यारिसबर्ग । सन् १०९६ तिरको कुरा हो, मात्र ६ वर्षकी बिनिता बुबाको हात समाउदै झापा स्थित शरणार्थी क्याम्प नजिकैको जंगलमा पुगेकी थिइन। जुनठाँउमा लुकिछिपि तेक्वान्दो सिकाउने गरिन्थ्यो।
खासमा त्यहाँ जानका लागि उनका दाईलाई प्रस्ताव आएको थियो। तेक्वान्दोका प्रशिक्षक मोहन सेन्चुरीले घरमै आएर बिनिताका बुबा देवराज पुरी सँग उनका छोरालाई पठाउन भनेका थिए। तर खै किन हो बुबाले त्यो यात्रामा बिनितालाई रोजे।
सायद एउटा मात्र छोरो एकले अर्कलाई हिर्काउने खेलमा पठाउन डराए पनि। तर त्यो मात्र होइन स्थानीय स्कूलका प्रिन्सिपल समेत रहेका देवराजलाई आफ्नी छोरी प्रति बढी नै विश्वास पनि थियो। अझ भनौ छोरीले पनि गर्न सक्छे भन्ने भरोसा । हुनपनि बिनिताले खेल्न थालेको चार वर्षमा नै व्याल्कवेल्ट लिएर देखाइदिइन्।
उमेर मात्र होइन ज्यानको बनौट पनि सानै हो बिनिताको। “शुरुमा त मलाई केही थाहा छैन, बाबाले बोकेर लानु हुन्थ्यो, के हो के भन्ने लाग्ने तर पछि मलाई पनि रमाइलै लाग्दै गयो” अमेरिकाको पेन्सिलभेनिया राज्यको राजधानी हरिसबर्ग स्थित ग्लोवल तेक्वान्दो एकेडेमीमा अप्रिल १९ तारिक आफ्नै ३२ औं जन्मदिन मनाउदै गर्दा भेटिएकी बिनिता एकै श्वासमा अतिततर्फ फर्कदै थिइन्।
ब्याल्कवेल्ट पाएको दुई वर्षमा बिनिताले सन् २००२ मा पहिलो स्वर्ण जितिन् स्थानीय प्रतियोगितामा। जुन समय उनको उमेर १२ वर्ष मात्र थियो। त्यो बेला प्रतियोगिता पनि कमै हुने। तर जुनजुन प्रतियोगितामा बिनिता सहभागि भइन रित्तो हात भने फर्कन परेन।
खेल सँग सँगै सानै उमेरमा बिनिताले अरुलाई तेक्वान्दो सिकाउन थालिन। “मैले ड्याडी प्रिन्सिपल रहनु भएकै स्कूलमा आफैले डोजाङ स्थापना गरि तेक्वान्दो सिकाउन थाले, म भन्दा ठूला पनि तेक्वान्दो सिक्न आउथे।”
ति दिन सम्झदा बिनितालाई अझै भिन्नै उत्साह हुन्छ जुन समय उनले काठमाडौंमा पनि तेक्वान्दो प्रशिक्षण लिन पाइन् । “सन् २००७ मा दशरथ रंगशालामा रहेको केन्द्रिय डोजाङ्गमा दुई हप्ताको प्रशिक्षण लिने अवसर मिल्यो, त्यो पनि संगिना वैद्य सँग।”
बिनिताले नेपाल तेक्वान्दो संघ बाट प्रशिक्षक लाइसेन्स र कुकिवानबाट दोस्रो डान पनि पाइन। काठमाडौंमा उनका किकहरु झनै तिखारिदै थियो त्यही बेला क्याम्पमा रहेकालाई अमेरिका लैजाने भनियो।
जीवनमा उनको अर्को परिवर्तन पनि त्यही बेला भयो। उनको नाममा बिनिता पुरी सँगै राई पनि थपियो। प्रकाश राई सँग उनले विवाह गरिन। बिनितालाई लाग्यो अब मेरो तेक्वान्दो जीवन सकियो। किनकी सन् २०११ मा अमेरिका पाइला टेक्दा काखमा छोरो पनि थियो।
शुरुका वर्ष सिकागोको जीवन केही कष्टकर हुने नै भयो। नयाँ ठाँउ त्यसमा बिछ्ट्टै चिसो। काखमा सानो नानी,कामको शिलशिलामा श्रीमान श्रीमतीकै भेट हुन गाह्रो। कामबाट एउटा घर आउन पाएको छैन अर्कोलाई हिड्न हतार।
सन् २०१४ तिर एक दिन फोन चलाउदै थिइन। एउटा मार्शल आर्ट स्कूलको विज्ञापन देखिन्। घर नजिकै रहेछ, औला चलाइन, म्यासेज फ्याट्ट गइहाल्यो। स्कूलले सोच्यो नयाँ विद्यार्थी पाउने भइयो, फोन गरिहाल्यो।
बिनिताले आफ्नो बारेमा सबै बेलिविस्तार लगाइन। “मलाई तेक्वान्दोको भोक थियो, तलव नै नपाए पनि तेक्वान्दो सिकाउन पाए हुने भन्ने थियो। म सँग भएको सबै कागजपत्र बोकेर गए, भाग्यवस म सँग भएको कुकिवानको सर्टिफिकेटले ठूलो काम गर्यो।”
हुन पनि त्यही विज्ञापनले बिनिताले आसै मारेको तेक्वान्दोमा पुन फर्कन पाइन्। स्कूलका संचालकले उनको परिक्षा लिए केही किक देखाउन भने, बस तलव नै पाउने गरि काम पाइन। अनि तेक्वान्दो जीवनको दोस्रो इनिङ्ग शुरु भयो त्यो पनि अमेरिकामा।
तीन वर्ष सम्म उनले सो स्कूलमा तेक्वान्दो प्रशिक्षकको रुपमा विताइन। २०१७ मा उनले काम छोड्नु पर्यो । कारण दोस्रो सन्तानको रुपमा छोरीले धर्तिमा पाइला टेकिन।
सन् २०१९ मा बिनिताको परिवार पेन्सिलभेनिया सर्यो। शुरुमा हरिसबर्गमा रहेको हिमालयन तेक्वान्दोमा प्रशिक्षकको रुपमा काम गरेकी बिनिताको अहिलेको दैनीकी हिमालयनकै अर्को शाखा ग्लोबल तेक्वान्दो एकेडेमीमा वित्छ।
एकेडेमीमै आफ्ना विद्यार्थी र उनका अभिभावकबाट ३२ औ जन्मदिनको शुभकामना ग्रहण गर्दै गर्दा बिनिताले तेक्वान्दो विनाको जीवन उकुश मुकुस हुने सुनाइन।
“तेक्वान्दोमा किक र पन्च मात्र होइन, फिजिकलका साथै अनुशासनमा पनि राख्छ,मन शान्त हुन्छ, उकुश मुकुस कम हुन्छ। घरमा आमाबाबुले दिन नसकेको अनुशासन हामी बच्चालाई दिन्छौं।”
तेस्रो इनिङ्गको तयारी
जीवन नै पाठशाला हो । सिकेर कहिल्यै पुरा हुदैन । दश वर्षको उमेर देखि नै अरुलाई पनि तेक्वान्दो सिकाउन शुरु गरेकी बिनिताको यात्रामा अव अर्को परिचय पनि थपिदै छ अन्तर्राष्ट्रिय रेफ्रि।
त्यसो त नेपाल तेक्वान्दो संघले दिएको लाइसेन्सको आधारमा बिनिताले झापामा नै रेफ्रि करिअर शुरु गरेकी हुन्। अमेरिकामा आएर पनि उनले स्टेट लेवलको प्रितियोगितामा रेफ्रिको अनुभव लिइसकेकी छिन्।
सिकागो, भर्जिनिया र ओहायोमा भएका स्टटे लेवलको प्रतियोगितामा रेफ्रि गरेकी विनिता अर्को महिना मिचिगनमा हुने १३ औं इन्टरनेश्नल खुल्ला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिपको रेफ्रि टिममा छानिएकी छिन्। मे १४ तारिकमा हुने च्याम्पियनसिपमा विश्वभरीका खेलाडीले सहभागिता जनाउदै छन्।
“जुन अवसर पाउदै छु, म उत्साहित छु यो मेरो अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्रि करिअरको लागि पहिलो खुड्किलो हो।” बिनिता भन्छिन,”बाबाले किन त्यो बेला तेक्वान्दो लगाउनु भयो होला लाग्थो तर अहिले खुसी छु।”
यो खुसी मनाउदै गर्दा बिनिताका लागि जीवनको त्यो एउटा दुख आँखामा झलझली हुन्छ। झापामा जिल्ला स्तरमा मात्र होइन मेची अञ्चल स्तरको प्रतियोगितामा पनि उनले स्वर्ण पदक जितेकी हुन्। तर उनले राष्ट्रिय प्रतियोगिता कहिल्यै खेल्न पाइनन् । कारण नागरिकता । अनागरिक हुनुको पीडा। शरणार्थीको जीवन।
“लोकलमा जति नै खेले पनि राष्ट्रिय प्रतियोगितामा खेल्न नपाउने हुदाँ दुख लाग्थ्यो,हामी दुई जना थियौ नागरिकताको कारण खेल्न नपाउने, तर पनि तेक्वान्दो छोड्न मन लागेन।” यसो भन्दै गर्दा उनका ओठ काप्न थाल्छन्।
“बच्चा देखि खेलेको तर आफ्नो नाम दर्ता नभएको देख्दा दुख लागेको थियो, तर अब त्यस्तो छैन, खेलाडीको रुपमा अवसर पाइन तर अव प्रशिक्षक र रेफ्रिको रुपमा सफल हुनुछ। अब म सँग अनागरिक हुनुको पीडा छैन्।” उनमा आत्मविश्वास पनि छ।
बिनिताले जीवनमा विर्सनै नसक्ने अर्को नाम छ, प्रशिकक्ष विजय न्यौपाने । “मास्टर न्यौपाने सँग ऋणि छु, उहाँले तेक्वान्दो सिकाउनु भयो,दोस्रो डान दिलाइदिनु भयो त्यही डान अहिले मलाई तेक्वान्दोमा लाग्ने बाटो दिएको छ।”
बिनिताले अब अर्को वर्ष तेस्रो डानको परिक्षा दिने तयारीमा छिन् । “नेपालमा हुदाँ नागरिकताका कारण अगाडि बढ्न पाइन, अमेरिकमा आउदा शुरुमा कोही चिनेको पनि थिइन । तर अहिले धेरै जनालाई चिन्न थालेको छु ।” उनी भन्छिन, “हिड्ने बाटो देखेको छु, अवसर पाएको छु, चाहेर पनि खेलाडीको रुपमा अगाडि पढ्न पाइन तर अव रेफ्रि र प्रशिक्षकको रुपमा अगाडि बढ्नु छ।”
बिनिता आफ्नो श्रीमान र परिवारको साथले पनि यात्रा सहज हुनेमा विश्वस्त छिन् । “सजिलो नै त छैन, एउटी श्रीमती, एउटी आमा, एउटी बुहारी हुदै मैले अगाडि बढ्नु छ,”इटनट ईजी,गाह्रो छ, तर मलाई श्रीमानको सहयोग छ । परिवारका सदस्यले पनि आज क्लास किन नजाने भनेर सोध्नु हुन्छ, प्रोत्साहन नै छ, त्यसले हौसला दिन्छ।”
“बाबा र श्रीमानको गौरवका लागि पनि मैले तेक्वान्दोको सफल हुनु पर्छ।” कुराकानीको विट मार्दै बिनिता भन्छिन् ।