गठबन्धन बैठक : नेकपा एसका जनप्रतिनिधिलाई सोही ठाउँ छाड्ने सत्ता गठबन्धनको निर्णय
काठमाडौं । सत्ता गठबन्धनले तत्कालीन नेकपा एमालेबाट स्थानीय तहमा विजयी भएका र हाल नेकपा एकीकृत समाजवादीमा रहेका जनप्रतिनिधिका लागि ती स्थान छाड्ने निर्णय गरेको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकले एमालेबाट एकीकृत समाजवादी रोजेका स्थानीय तहका जनप्रतिनिधिलाई त्यसै अनुसार मान्ने निर्णय गरेको सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
नेतृत्व बाँडफाँट टुंगो लगाउन निर्देशन
सत्ता गठबन्धनका दलहरुको बैठकले स्थानीय तह निर्वाचनका लागि गठबन्धन र उमेदवारको टुंगो लगाउन निर्देशन दिएको छ ।
बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकले यस्तो निर्देशन दिएको हो । नेतृत्व बाँडफाँट गरेर केन्द्रमा पठाउन जिल्ला संयन्त्रलाई निर्देशन दिएको हो ।
गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन् । आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन तोकिएको छ ।
यस्तो छ गठबन्धनको उम्मेदवार चयनको मापदण्ड
सत्ता गठबन्धनले चुनावी तालमेलको मोडालिटी लिखित रूपमा स्थानीय संयन्त्रहरूमा पठाउने निर्णय गरेको छ । मंगलबार राति प्रधानमन्त्री निवास बालुवाटार पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठकले चुनावी तालमेलको मोडालिटी लिखित रूपमा स्थानीय संयन्त्रहरूमा पठाउने निर्णय गरेको सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार, पाँच दलीय गठनबन्धनका बीच स्थानीय तहको निर्वाचनमा सिट बाँडफाँट गर्दा देहाय बमोजिमको संयन्त्रले देहाय बमोजिमको सिट बाँडफाँट गर्ने निर्णय भएको जानकारी दिए ।
यस्तो छ मोडालिटी
महानगरपालिका र उपमहानगरपालिका प्रमुख र उपप्रमुखको सिट बाँडफाँडको निर्णय पाँच दलीय गठबन्धनको केन्द्रीय संयन्त्रले गर्ने।
नगरपालिका र गाउँपालिकाको क्रमशः प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको तालमेल सम्बन्धी सिट बाँडफाँटको आवश्यक निर्णय गरी वैशाख ३ गतेभित्र जिल्ला संयन्त्रले प्रदेशलाई सिफारिस गर्ने र प्रदेश संयन्त्रले निर्णय गरी वैशाख ५ गतेभित्र केन्द्रलाई पठाउने ।
महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका वडाध्यक्ष तथा सदस्यहरूको सिट बाँडफाँटको निर्णय जिल्ला संयन्त्रले वैशाख ३ गतेभित्र टुंगो लगाउने।
प्रदेश तथा जिल्ला संयन्त्रमा प्रत्येक दलको प्रमुख सहित दुईदुई जना प्रतिनिधि रहने।
प्रत्येक तहको संयन्त्रमा निर्णय लिनका लागि सम्बन्धित पार्टीले आ-आफ्नो आवश्यकता अनुसार प्रतिनिधि आमन्त्रण गर्न सक्नेछ।
सबै तहको बैठकको संयोजन नेपाली कांग्रेसका सम्बन्धित तहका सभापतिले गर्ने।