एनआरएनए अमेरिका : ‘बुद्दि सुवेदी टीमले कमजोरी लुकाउन दोष अरुलाई थोपर्ने काम गर्यो’ : पूर्व पदाधिकारीहरु
अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) , राष्ट्रिय समन्वय परिषद् (एनसीसी),अमेरिकाका पूर्व पदाधिकारीले हालै सम्म हाइब्रिट बैठकमा कोषाध्यक्षको टिप्पणीमा आपत्ति जनाएका छन् ।
फ्लोरिडामा गत शनिवार सम्पन्न बैठकमा कोषाध्यक्ष राजीव श्रेष्ठले अघिल्लो कार्य समितिले हरहिसाब लथालिङ् बनाएको, अनावश्यक खर्च गरेको र आवश्यक कागज पत्र नदिएको आरोप लगाएका थिए ।
एनआरएनए अमेरिकाका निवर्तमान कार्यसमितिका तीन पदाधिकारीले बुधवार संयुक्त विज्ञप्ति जारी गर्दै राजीव श्रेष्ठको भनाइको खण्डन गरेका छन् ।
निबर्तमान महासचिव पशुपती पाण्डे, कोषाध्यक्ष नेत्र बन्धु पोख्रेल र सह कोषाध्यक्ष सन्तोष बिष्टद्वारा जारी विज्ञप्तिमा आफ्नो कार्यकालको आम्दानी खर्च भन्दा पुरानो समितिलाई दोष लगाउदा शंका उत्पन्न भएको भनिएको छ ।
आफ्नो कार्यकालको अर्ध बार्षिक भन्दा बढी समय पूरा गरेको समितिको कोषाध्यक्षको प्रतिबेदनमा सो अबधिमा संस्थाले गरेको आम्दानी र खर्च बुँदागत रुपमा रही जम्मा आम्दानी, जम्मा खर्च र हालको मौज्दातको स्थिति आउनु पर्नेमा कोषाध्यक्षले त्यो दिन नसकेकोमा विज्ञप्तिमा प्रश्न उठाइएको छ ।
निबर्तमान कार्य समितिले केही गरेन, कुनै रेकर्ड दिएन भनेर सो को आलोचनामा अधिक समय खर्च गरेर निकम्मा साबित गर्ने प्रयास भएको आरोप कोषाध्यक्षलाई लगाइएको छ ।
विज्ञप्तिमा भनिएको छ,’बिगतको कार्य समितिलाई दोषी देखाएर आफ्नो कमजोरी ढाक्ने प्रयास पो हो कि भनि संका उब्जिएको छ ।’
निबर्तमान आईटी कमिटीले आबस्यक सम्पूर्ण कागजात/पासवर्ड बर्तमान आईटी कमिटीलाई गत जुलाई मै हस्तान्तरण गरिएको भन्दै उनीहरुले कोषाध्यक्ष श्रेष्ठले गलत सूचना दिइएको दाबी गरेका छन् ।
‘बिभिन्न भेन्डरहरुलाई उपलब्ध गराएको रकमलाई पुरानो कमिटीले रकम हिनामिना गरेको रुपमा प्रस्तुत गरिनु दुःखद छ । एनआरएनए यु एस ए को वेबसाईट कत्तिको आधुनिक र यस्को डाटा सिस्टम कति शुरक्षित छ भन्ने कुरा आईटीको ज्ञान भएको ब्यक्तिले सजिलै थाहा पाउन सक्छ।’
नयाँ फिचरहरु थप्दा खर्च बढेको पूर्व पदाधिकारीको दावी छ । ‘यति ठुलो र मर्यादित संस्थाका उच्च पदाधिकारीले अरुको दोष देखाएर आफ्नो कमजोरी लुकाउन खोजेको जस्तो देखिनु किमार्थ उपयुक्त मान्न सकिंदैन ।’ विज्ञप्तिमा भनिएको छ । ‘औपचारिक कार्यक्रममा दिइएको अभिव्यक्तिले सिर्जित भ्रमलाई प्रस्ट पार्ने प्रयास गरिएको हो ।’
एनआरएनए अमेरिकाका पूर्व पदाधिकारीको विज्ञप्तिको पूर्ण पाठ
मिति: फेब्रुवरी २, २०२२
आदरणीय गैर आवासीय नेपाली संघ अमेरिकाका सदस्य साथीहरु,
नमस्कार !
यहॉहरुको अपार मायॉ, सद्भाव र प्रेरणाले एनआरएन अमेरिकाको महासचिब र कोषाध्यक्षको हैसियतले दुई बर्ष ( २०१९-२०२१ )यहॉहरुको समिप रहेर यहॉहरुकै सहयोगमा काम गर्ने अवसर प्राप्त भयो । आजका दिनमा हामी आम सदस्यहरू संगै यहॉहरुको माझमा छौं र बर्तमान कार्य समितिका गतिबिधिहरु नजिकबाट नियालिरहेका छौं ।
एनआरएन अमेरिकाको हालै सम्पन्न हाइब्रिड बैठकमा कोषाध्यक्षको आर्थिक प्रतिबेदन भनि सार्बजनिक गरिएको प्रस्तुतिको बारेमा केही कुरा राख्नु पर्ने, केहि कुरा प्रस्ट पार्नु पर्ने देखिएको छ । आफ्नो कार्यकालको अर्ध बार्षिक भन्दा बढी समय पूरा गरेको यस समितिको कोषाध्यक्षको प्रतिबेदनमा यो अबधिमा संस्थाले गरेको आम्दानी र खर्च बुँदागत रुपमा रही जम्मा आम्दानी, जम्मा खर्च र हालको मौज्दातको स्थिति आउँछ भन्ने हाम्रो आशामा तुसारापात भएको मात्र होइन निबर्तमान कार्य समितिले केही गरेन, कुनै रेकर्ड दिएन भनेर सो को आलोचनामा अधिक समय खर्च गरेर निकम्मा साबित गर्ने प्रयास रहेको पाइयो ।
कोषाध्यक्ष ज्यूले, मैले तिनवटा ठूला फाइल बाहेक केहि पाइन भन्दै गर्दा पुराना रेकर्डहरु भने आफै प्रस्तुत गरिरहनु भएको थियो । २०१९-२०२१ कार्यकालमा हरेक महिना आर्थिक प्रतिबेदनहरु सार्बजनिक भएकै थिए । बैंक खाता र कागजातहरु, QuickBooks मा राखिएको लेखा प्रणाली, हरेक खर्चको कार्य समितिबाट पारित गरिएका बिबरणको बिद्युतीय मात्र नभई प्रिन्टेड कपिहरुको साथमा बिल भर्पाईहरु हस्तान्तरण गरिसकेपछि ब्यालेन्स सिट नपाएको हास्यास्पद कुराले कसको गरिमा घटायो ? चाहेको समयमा ब्यालेन्स सिट मात्र होइन, हरेक आम्दानी खर्चको एक-एक बिबरण QuickBooks बाट सजिलै तयार गर्न सकिने हुँदाहुँदै बिगतको कार्य समितिलाई दोषी देखाएर आफ्नो कमजोरी ढाक्ने प्रयास पो हो कि भनि संका उब्जिएको छ । दशौं साधारण सभामा कति सहयोग जुट्यो, सहभागीहरुबाट दर्ता शुल्क कतिउठ्यो बताइंदैन (जहाँ नगद कारोबार समेत छ ), तर खर्च यति भयो मात्र भनिन्छ । संस्थाको आधिकारिक पदाधिकारीले औपचारिक कार्यक्रममा तथ्यांकहरु रकम संबन्धि कुराहरु यति भनेर निश्चित अंक भन्नु पर्नेमा करिब अथवा यति जति भनेर प्रस्तुत हुनुलाई कुन रुपमा लिने ?
कुन शिर्षकमा कति रकम छ भन्ने कुरा विधानतः तयार गरी सभापतिले रिभ्यु गरिसके पछि सभापतिको स्वीकृतिमा कार्य समितिमा राखेर त्यहॉबाट पारित भए पछि साधारण सभामा पस्तुत गरिएको र साधारण सभाले पारित गरेको अंक पनि पहिलेकाले यति राखेको छ भन्दै फरक कुरा बताइनुलाई कुन रुपमा बुझ्ने ?उदाहरणको रुपमा रुपमा Women Fund, Emergency Fund र youth and Student Fund बारेको अभिव्यक्तिलाई लिन सकिन्छ । Youth and Student Fund को लागि छुट्टै बैंक खाता खोलिएको थियो भने माथि उल्लेखित अरु दुईवटा शिर्षकको रकम नियमित खाता मै राख्ने गरिएको थियो । सबै शिर्षकको लागि अलग अलग खाता खोल्नु आबस्यकता पनि होइन र शंभव पनि हुँदैन ।
आइटिको सन्धर्बमा कुरा गर्दा निबर्तमान आईटी कमिटीले आबस्यक सम्पूर्ण कागजात/पासवर्ड बर्तमान आईटी कमिटीलाई गत जुलाई मै हस्तान्तरण गरिएको थियो ।यस शिर्षकमा बिभिन्न भेन्डरहरुलाई उपलब्ध गराएको रकमलाई पुरानो कमिटीले रकम हिनामिना गरेको रुपमा प्रस्तुत गरिनु दुःखद छ । एनआरएनए यु एस ए को वेबसाईट कत्तिको आधुनिक र यस्को डाटा सिस्टम कति शुरक्षित छ भन्ने कुरा आईटीको ज्ञान भएको ब्यक्तिले सजिलै थाहा पाउन सक्छ। धेरै जसो खर्चहरु नयाँ फिचरहरुको लागी भएका छन जुन एक पटक बनाए पछी सधैलाई हुन्छ। मेम्बरसिप भेरीफिकेसनको लागि चाहिने धेरै टुलहरु थपिएको छ । वेब साईट बाहिरबाट जे देखिन्छ त्यो मात्र नभएर, सदस्यता ड्याटाबेस , प्रोफेस्नल ड्याटाबेस, डिजीटल आईडी, वेब एपीआई, मोबाईल एप, सिस्टम अडिट जस्ता धेरै कुराहरु यसमा समाबेस गरिएको छ । अडीटको लागी, कसैले सदस्यहरुको अकाउन्ट हेर्यो भने मात्रै पनि त्यसको रेकर्ड राख्ने बनाईएको छ। वेबसाईट संस्थाको सम्पति हो र यो सधैको लागि रहन्छ ।
आजको दिनमा एन अर एन अमेरिका को भरपर्दो IT System छ। केहि नयाँ फिचर थप्नु परे सजिलै अपग्रेड गर्न सकिन्छ। सबै भुक्तानी गरिएका बिल को खर्च बिबरण किन र के का लागी भनेर वेबसाईटमा पनि राखिएको छ। बर्तमान आईटी कमिटि कै अँगाडी Twilo मजाकको बिषय बनेको थियो जुन नयाँ सदस्यताको Two Factor Authentication र फोन बाट पास वार्ड रिसेटको लागी प्रयोग हुने पपुलर टुल हो । GoDaddy मास इमेल पठाउन प्रयोग गरिन्छ जसमा वेबसाइटको संलग्नता रहँदैन।
नयाँ फिचरहरु नथपे खर्च त्यसै घट्छ। मेम्बरसिपको पिक महिना र चुनाब को समयमा सिस्टमले धेरै काम गर्नु पर्ने हुन्छ अनि खर्च पनि अलि बढी नै हुन्छ। आईटी को भाषामा यसलाई Elasticity(Cloud Computing) भनिन्छ। गत बर्षको लोडको आधारमा सिस्टम अझै अप्टीमाईज गरेर आउँदा बर्षहरुमा खर्चहरु घटाउन सकिन्छ। पिक टाईमको तुलनामा भन्दा एउटा पनि मेम्बेर रजिस्टर नभएको समयमा कम खर्च हुनु स्वाभाविक हो जसलाई घटाएको मान्न सकिंदैन । सस्तो प्रबिधि बाट काम चलाउन त सकिन्छ, खर्च पनि घटाउन सकिएला तर सदस्यता बितरणको ब्यस्त समयमा सर्वर डाउन हुने समस्या आउन सक्छ ।
प्रत्येक बार्षिक साधारण शभामा आबाज उठ्ने गरेको छ, एन सि सि यु एस ए को सचिवालय को ब्यवस्था गरिनु पर्दछ र कार्यालय सचिब नियुक्ति गरिनु पर्दछ भनेर तर आश्चर्यको कुरा २०१९-२०२१ को पूरै अबधिमा सचिवालयको खर्च ३,००० डलर आउँदा ठुलो आवाज गरेर बिरोध गरिन्छ । सचिवालयको सहयोगमा पत्राचार तथा डकुमेण्ट टाईप गर्न मा सहयोग पुर्याउनका निम्ति ३,००० डलर खर्च गरिएको थियो। निम्न आम्दानी भएका सचिवालयको कार्य मा सहयोग गर्ने ब्यक्तिको पारिश्रमिक रोकिनु दुःखद छ ।
स्मरण रहोस, २०१९-२०२१ मा आम्दानी खर्चका बिबरणहरु कार्य समितिको स्वीकृति पश्चात मात्र आम सदस्यहरूलाई पठाइन्थ्यो । यो पद्धतिको बारेमा तात्कालिन कार्य समितिमा रहेर काम गर्नु भएका व्यक्तित्वहरु पूर्ण जानकार हुनु हुन्छ जसमध्ये बर्तमान सभापति ज्यू लगायत पुनः निर्वाचित हुनु भएका पदाधिकारीहरू पनि हुनु हुन्छ । हाम्रो कार्यकालका आम्दानी खर्चका सबै विवरणहरु नवौं र दशौ बार्षिक साधारण सभा बाट पास गरिएको थियो जुन AGMको मिटिङ्ग माइन्युट मा पाउन सकिन्छ । https://nrnusa.org/meeting-minutes/list/
संस्थाका गतिबिधि र आर्थिक कृयाकलापहरु पारदर्शी हुनु पर्छ भन्ने कुरालाई आत्मसाथ गरी संस्थाका हरेक कृयाकलापहरु इमेल मार्फत जानकारी गराउनुको साथै हरेक महिना आम्दानी र खर्चका बिबरणहरु यहॉहरु समक्ष राख्ने गरेका थियौं । जुन एउटा परम्पराको रुपमा रहोस र संस्था पारदर्शी रहिरहोस भन्ने हाम्रो चाहना हो ।
यति ठुलो र मर्यादित संस्थाका उच्च पदाधिकारीले अरुको दोष देखाएर आफ्नो कमजोरी लुकाउन खोजेको जस्तो देखिनु किमार्थ उपयुक्त मान्न सकिंदैन ।
हरेक कुरामा कोही पनि पूर्ण हुँदैन। बिगतबाट पाठ सिक्दै कमजोरीहरु हटाउँदै जाने हो, सुधार गर्दै जाने हो । हरेक निर्वाचनबाट आउने कार्य समितिले अझै बढी काम गरोस भन्ने चाहना सदस्यको हुन्छ जुन स्वाभाविक नै हो । त्यसैको लागि त प्रत्येक २ बर्ष मा निर्वाचन गर्ने बैधानिक ब्यबस्था गरिएको होला । संस्थाको गरिमा र विश्वस्नियता प्रति हामी सबै उत्तरदायी र चनाखो हुनु पर्छ । औपचारिक कार्यक्रममा आधिकारिक प्रस्तुति दिंदै गर्दा तथ्यपरक र यथार्थमा आधारित हुन सक्यो भने मात्र सिंगो संस्थाको गरिमा कायम रहन सक्छ र यस दिशामा बर्तमान कार्य समितिको ध्यान पुग्नेछ भन्ने कुरामा आशाबादी हुनु स्वाभाविक हुन आउँछ ।
यहॉहरुको सहयोगमा पवित्र मनले दिन रात खटेर यहॉहरुले दिएको जिम्मेवारी पूरा गर्ने प्रयास गरेकोमा औपचारिक कार्यक्रममा दिइएको अभिव्यक्तिले सिर्जित भ्रमलाई प्रस्ट पार्ने प्रयास गरिएको हो । हामीले बढी काम गरेका थियौं भनेर भन्न पनि हामी चाहन्नौं किनभने त्यो हजुरहरुले हामीलाई दिएको जिम्मेवारी र हाम्रो कर्तब्य थियो । हामी सदा झैं संस्थाको हितमा आफ्नो तर्फबाट हुन सक्ने हर शंभव योगदान गर्न, सहयोग गर्न प्रतिबद्ध छौं र यहॉहरुबाट पनि सहयोग प्राप्त भइरहने कुरामा विश्वस्त छौं ।
एनआरएन अमेरिकाको बर्तमान कार्य समितिलाई लक्ष हासिल गर्न सफलता मिलोस र संस्थाको श्रीबृद्धिमा टेवा पुग्न सकोस हार्दिक शुभेक्षा टक्र्याउँछौं । जय एन.आर.एन ।
पशुपती पाण्डे
निबर्तमान महासचिव
नेत्र बन्धु पोख्रेल
निबर्तमान कोषाध्यक्ष
सन्तोष बिष्ट
निबर्तमान सह कोषाध्यक्ष
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्,अमेरिका

















