मेलम्चीमा भेटिएको भैसी माथि बनेको डकुमेन्ट्री अमेरिकामा प्रदर्शन हुने
अमेरिका । विपत्तको समयमा मानविय संवेदनालाई समेटेर बनाइएको ‘गड्ज बफेलो’ नामको डकुमेन्ट्री अमेरिकामा प्रदर्शित हुने भएको छ ।
बिष्णु कल्पितले निर्देशन गरेको डकुमेन्ट्री ‘गड्ज बफेलो’ प्रतिष्ठित अमेरिकी एनिमल फिल्म फेस्टिभलमा छानिएको हो । स्टुडियो फोटो ग्राफर, टेलिभिजनमा क्यामरा पर्शन हुदै करिअर अगाडि बढाएका कल्पितले यस अगाडि खिचेका थुप्रै डकुमेन्ट्रीले अवार्ड जितेको छ ।
यस पटक उनी आफैले निर्देशन गरेको डकुमेन्ट्री अमेरिकाका लागि छनौट भएको हो । कल्पित अन्तर्राष्ट्रिय टेलिभिजनहरुका लागि पनि नेपालका प्रिय क्यामरा पर्शन हुन् । ख्याति प्राप्त अन्तर्राष्ट्रिय निर्देशकहरु सँग काम गरेका कल्पितले लामो समय अलजजिराका लागि नेपालमा काम गरेका छन् ।
डकुमेन्ट्री नोभेम्बर २५ देखि २७ सम्म अमेरिकामा हुने एनिमल फिल्म फेस्टिभलमा यस फिल्मलाई स्क्रिनिङ गरिने भएको छ । उक्त फेस्टिभलले नेपाली डकुमेन्ट्री छानिएको चिन्ह समावेश गर्दै पोस्टर समेत लन्च गरेको छ ।
१४ मिनेट २० सेकेन्ड लामो डकुमेन्ट्रीले गत असारमा सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीले बगाएको भैंसीको उद्दारका लागि भएको प्रयास र भैंसी मालिकको संवेदनाको मर्मस्पर्शी कथा भन्छ ।
उक्त फिल्म हेरेपछि किम्फ निर्णायक अनुप बरालले गड्ज बफेलोले मानवीय संवेदना चित्रण गर्दै मस्तिष्कलाई हल्लाउने बताएका थिए । मेलम्ची बाढीबारे अलजजिरा टिभीको लागि रिर्पोटिङ गर्न जाँदा कल्पितले उक्त फिल्म छायांकन गरेका थिए ।
काठमाडौं पर्वतीय फिल्म फेस्टिभल (किम्फ)मा उत्कृष्ट डकुमेन्ट्री र इसिमोड पर्वतीय पुरस्कार जितेको यो फिल्म अर्को नेपाली फेस्टिभल निफमा समेत छानिएको छ ।
किम्फका दुई विधाबाटै यसले २ लाख रुपैयाँ जितेको थियो ।