थ्याङ्क्स गिभिङका दिन विद्युत् अवरोधप्रति पेन्सिल्भेनियाका गभर्नर शापिरोको चासो, सेवा पुनः सञ्चालन गर्न सरकारी निकाय सक्रिय
गोबिन्द गुरुङ ‘लेक्स’
कार्लाल, पेन्सिल्भेनिया / पेन्सिल्भेनिया राज्यका गभर्नर जोस शापिरोले थ्याङ्क्स गिभिङका दिन तीव्र हावाहुरीका कारण हजारौँ घरपरिवार विद्युत् सेवाबाट वञ्चित भएपछि सार्वजनिक वक्तव्य जारी गरेका छन्।
गभर्नर शापिरोका अनुसार प्रभावित बासिन्दाको विद्युत् सेवा सकेसम्म छिटो पुनः सञ्चालन गर्न पेन्सिल्भेनिया आपत्कालीन व्यवस्थापन निकाय र सार्वजनिक उपयोगिता आयोगले राज्यका विभिन्न विद्युत् सेवा प्रदायक कम्पनीहरूसँग समन्वय गरेर काम गरिरहेका छन्।
उनले बिदाको दिन समेत आफ्नो जिम्मेवारी पूरा गर्दै विद्युत् सेवा पुनः सञ्चालन गर्न खटिएका प्राविधिक कर्मचारी, विद्युत् मर्मत टोली तथा आपत्कालीन उद्धारकर्मीप्रति आभार व्यक्त गरेका छन्।
शापिरोले यस थ्याङ्क्सगिभिङमा नागरिकको घरमा पुनः बत्ती बाल्न र सबैको सुरक्षा सुनिश्चित गर्न बिदाको दिन पनि खटिएका कर्मचारीहरूको योगदान महत्त्वपूर्ण रहेको बताएका छन्।
उनले खराब मौसमका बीच सर्वसाधारणलाई सुरक्षित रहन, स्थानीय अधिकारीहरूले जारी गरेका निर्देशन पालना गर्न तथा आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।
पेन्सिल्भेनियाका विभिन्न क्षेत्रमा तीव्र हावाहुरी र वर्षाका कारण रुख तथा विद्युत्का तार ढलेपछि ठूलो संख्यामा घरपरिवारको विद्युत् सेवा अवरुद्ध भएको छ। विद्युत् सेवा पुनः सञ्चालनका लागि मर्मत टोलीहरू विभिन्न प्रभावित क्षेत्रमा खटिएका छन्।
तस्वीर सौजन्य : गभर्नर जोस शापिरोको फेसबुकबाट



















