अमेरिकामा ड्रुक शितो काईको वार्षिक कंग्रेस सम्पन्न, ४० भन्दा बढी करातेकर्मीको सहभागिता
सहयात्री ढकाल
कोलम्बस, ओहायो / अमेरिकामा शितोरियो करातेको विकास, संस्थागत एकता र ऐतिहासिक विरासत संरक्षणलाई प्राथमिकता दिँदै ड्रुक शितो काईको वार्षिक कंग्रेस २०२६ सम्पन्न भएको छ। नोभेम्बर २१ मा आयोजित कंग्रेसमा अमेरिकाका विभिन्न डोजो तथा कराते संस्थाबाट ४० जनाभन्दा बढी खेलाडी, प्रशिक्षक र प्रतिनिधिहरू सहभागी भएका थिए।
ड्रुक शितो काईको आयोजनामा तथा ओहायो कराते क्लबको आतिथ्यमा नोभेम्बर २० देखि २२ सम्म सञ्चालन भएको तीनदिने गाशुकु (विशेष प्रशिक्षण शिविर) को एक महत्त्वपूर्ण हिस्साका रूपमा वार्षिक कंग्रेस आयोजना गरिएको थियो। कंग्रेसमा संगठनात्मक सुशासन, आर्थिक पारदर्शिता, प्राविधिक नेतृत्व, भुटानी करातेको इतिहास अभिलेखीकरण तथा आगामी प्रतियोगितात्मक योजनाबारे छलफल भएको थियो।
कंग्रेसमा ड्रुक शितो काईका प्राविधिक प्रमुख शिहान टी. राबिनो, मिडवेस्ट शितो काईका कोच जोन नेल्सन तथा ड्रुक इन्टरनेसनल सितोरियो कराते एसोसिएसन (डिस्का) का अध्यक्ष एवं प्रमुख प्रशिक्षक शिहान रन राईको उपस्थिति रहेको थियो। त्यसैगरी, राज मगर, तुला ढकाल, मणि राई, डेनि तामाङ, विशाल गुरुङ, बम मगर, अनुज ढकाल, नेहा अधिकारी र केन्जल दुलाललगायत विभिन्न डोजो तथा संस्थाका प्रतिनिधिहरू सहभागी थिए।
कार्यक्रमको स्वागत मन्तव्य मणि राईले व्यक्त गरेका थिए। सहभागीहरूको परिचयपछि औपचारिक छलफल अघि बढाइएको थियो।
भुटानी करातेको इतिहास संरक्षण र अभिलेखीकरणमा जोड
कंग्रेसको प्रमुख छलफलमध्ये भुटानी करातेको इतिहास र अमेरिकामा यसको विकासक्रमलाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्ने विषय रहेको थियो। भुटानी शरणार्थी शिविरबाट सुरु भएको कराते अभ्यासको ऐतिहासिक यात्रा, अग्रज प्रशिक्षकहरूको योगदान तथा त्यसले अन्तर्राष्ट्रिय स्तरसम्म पारेको प्रभावलाई नयाँ पुस्तासम्म पुर्याउनुपर्ने आवश्यकतामा जोड दिइएको थियो।

बैठकका लागि तयार गरिएका टिप्पणीमा सेन्सेई रन राईसँग भुटानी करातेको सुरुवात, ऐतिहासिक पृष्ठभूमि र अमेरिकासम्मको यात्राबारे जानकारी संकलन गर्ने विषय समावेश थियो। पुराना तस्बिर, भिडियो तथा अन्य ऐतिहासिक सामग्री संकलन गरी संस्थाको इतिहासलाई व्यवस्थित रूपमा सुरक्षित राख्ने प्रस्तावसमेत छलफलका लागि राखिएको थियो।
यसैगरी, शितो–र्यु करातेका संस्थापक केन्वा माबुनीसँग सम्बन्धित ऐतिहासिक वंशपरम्परा , करातेको दर्शन तथा गुरु–शिष्य परम्पराबारे जानकारी संकलन र संरक्षण गर्ने विषय पनि कार्यसूचीमा समेटिएको थियो।
आगामी ड्रुक अनलाइन ओपन काता च्याम्पियनसिपको योजना
कंग्रेसमा आगामी ड्रुक अनलाइन ओपन काता च्याम्पियनसिप आयोजना गर्ने योजनाबारे पनि छलफल भएको थियो। यससम्बन्धी अवधारणा, प्रतियोगिताको स्वरूप र आवश्यक तयारीबारे ड्रुक शितो काईका सदस्य राज मगरले प्रस्तुति दिएका थिए।

अनलाइन माध्यमबाट विभिन्न स्थानमा रहेका कराते खेलाडीलाई एउटै प्रतिस्पर्धात्मक मञ्चमा जोड्ने उद्देश्यले प्रस्तावित प्रतियोगिताका विधा, प्राविधिक मापदण्ड, मूल्याङ्कन प्रणाली तथा व्यवस्थापनका विषयमा विचारविमर्श गरिएको थियो। यसले भौगोलिक दूरीका कारण प्रत्यक्ष प्रतियोगितामा सहभागी हुन कठिनाइ हुने खेलाडीलाई समेत प्रतिस्पर्धाको अवसर उपलब्ध गराउन सक्ने अपेक्षा गरिएको छ।
तीनदिने गाशुकुमा काता र बुनकाईको विशेष प्रशिक्षण
नोभेम्बर २० देखि २२ सम्म सञ्चालन भएको गाशुकुको प्राविधिक नेतृत्व शिहान टी. राबिनोले गरेका थिए। कार्यक्रममा जुनियर तथा सिनियर खेलाडी र वरिष्ठ प्रशिक्षकहरूका लागि छुट्टाछुट्टै प्रशिक्षण सत्र सञ्चालन गरिएको थियो।

प्रशिक्षणमा कुरुरुनफा, हेयान, ताची, कोसोकुन दाइ, बस्साई दाइ, सेइपाई, निपाइपो, सेइएनचिन र कुसोकुन शो लगायतका काताहरूको अभ्यास तथा तिनको बुनकाई समावेश गरिएको थियो। काताको शुद्धता, प्राविधिक बुझाइ र व्यावहारिक प्रयोगमा जोड दिँदै खेलाडीहरूको उमेर तथा प्राविधिक स्तरअनुसार प्रशिक्षण सञ्चालन गरिएको थियो।
डान ग्रेडिङमा तीन खेलाडी सहभागी
गाशुकुअन्तर्गत सञ्चालन गरिएको डान ग्रेडिङ परीक्षामा ओहायो कराते क्लबका अमिस रिजाल सहभागी भएका थिए। त्यसैगरी, ड्रुक शितो काईका सदस्य बम मगर र विशाल गुरुङले पनि परीक्षामा भाग लिएका थिए।
बालबालिकादेखि उन्नत खेलाडीसम्मका लागि प्रशिक्षण योजना
कंग्रेसमा बालबालिकाका लागि ग्रीष्मकालीन कराते प्रशिक्षण कार्यक्रम विकास गर्ने प्रस्ताव पनि छलफलका लागि प्रस्तुत गरिएको थियो। उमेरअनुकूल प्रशिक्षण, सीप विकास तथा अतिरिक्त गतिविधिमार्फत नयाँ पुस्तालाई करातेमा आकर्षित गर्ने उद्देश्य यस योजनामा समेटिएको छ।
त्यस्तै, उन्नत तहका खेलाडीका लागि संरचित अनलाइन प्राविधिक कक्षा सञ्चालन गर्ने, नियमित प्रशिक्षण तालिका बनाउने तथा प्रशिक्षक र सहभागीको जिम्मेवारी स्पष्ट पार्ने विषयमा पनि छलफल भएको थियो।
आर्थिक पारदर्शिता र संस्थागत सुशासनमा जोड
कंग्रेसमा संस्थाको आर्थिक व्यवस्थापन, पारदर्शिता, जिम्मेवारी बाँडफाँट, प्राविधिक मापदण्ड तथा दीर्घकालीन रणनीतिक योजनाबारे छलफल गरिएको थियो। विभिन्न डोजो र प्रशिक्षकबीच समन्वय बढाउँदै संस्थागत व्यवस्थापनलाई व्यवस्थित बनाउने र आगामी कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयलाई प्राथमिकता दिइएको थियो।
विरासत संरक्षण र अन्तर्राष्ट्रिय विस्तारको लक्ष्य
ड्रुक शितो काईको वार्षिक कंग्रेस र तीनदिने गाशुकुले कराते प्रशिक्षणलाई शारीरिक अभ्यासमा मात्र सीमित नराखी इतिहास, दर्शन, अनुशासन, प्राविधिक ज्ञान र संस्थागत एकतासँग जोड्ने प्रयास गरेको छ।
भुटानी करातेको ऐतिहासिक यात्रालाई अभिलेखीकरण गर्ने, शितो–र्युको परम्परा संरक्षण गर्ने, नयाँ पुस्ताका खेलाडी तथा प्रशिक्षक तयार गर्ने र अनलाइन प्रतियोगितामार्फत अन्तर्राष्ट्रिय सहभागिता विस्तार गर्ने योजनाले संस्थाको आगामी कार्यदिशालाई थप व्यवस्थित र फराकिलो बनाउने अपेक्षा गरिएको छ।



















