कम्बरल्यान्ड काउन्टीको सन् २०२७ को बजेट प्रस्ताव सार्वजनिक, सम्पत्ति कर नबढाउने निर्णय
गोबिन्द गुरुङ ‘लेक्स’
कार्लाल, पेन्सिल्भेनिया / अमेरिकाको पेन्सिल्भेनिया राज्यस्थित कम्बरल्यान्ड काउन्टीले सन् २०२७ का लागि सम्पत्ति कर वृद्धि नगर्ने प्रस्तावसहित ३० करोड ४५ लाख डलरको बजेट सार्वजनिक गरेको छ।
काउन्टीका कमिश्नरहरूको बोर्डले प्रस्तावित बजेटलाई सार्वजनिक अवलोकनका लागि उपलब्ध गराउने निर्णय २–१ मतले पारित गरेको हो।
काउन्टीका अनुसार प्रस्तावित बजेटमा सम्पत्ति करको दर ‘मिलेज रेट’ वृद्धि गरिएको छैन। हाल कायम रहेको काउन्टीको कर दर २.६२५ मिल्समै यथावत् राख्ने प्रस्ताव गरिएको छ। त्यस्तै, पुस्तकालयका लागि लाग्ने कर दर पनि ०.२५० मिल्समै कायम रहनेछ।
काउन्टी प्रशासनका अनुसार वस्तु तथा सेवाको मूल्य निरन्तर बढिरहेको र विभिन्न विभागमा सार्वजनिक सेवाको माग विस्तार हुँदै गएकाले आर्थिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ।
काउन्टीले जारी गरेको स्पष्टीकरणमा भनिएको छ, ‘वस्तु तथा सेवाको बढ्दो लागत र विभिन्न विभागमा सार्वजनिक सेवाको माग बढिरहेका कारण कम्बरल्यान्ड काउन्टीले उल्लेखनीय चुनौतीहरूको सामना गरिरहेको छ। यी दबाबका बाबजुद पनि काउन्टी खर्च नियन्त्रण, सञ्चालन दक्षतामा सुधार र महत्त्वपूर्ण कार्यक्रमहरूलाई सहयोग पुर्याउन अनुदानका अवसर खोज्ने कार्यमा केन्द्रित छ।’
प्रस्तावित सन् २०२७ को बजेट आजदेखि कम्बरल्यान्ड काउन्टी कमिश्नर कार्यालयमा सार्वजनिक अवलोकनका लागि उपलब्ध गराइएको छ। सर्वसाधारणले सोमबारदेखि शुक्रबारसम्म बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म कार्यालयमा पुगेर बजेट हेर्न सक्नेछन्।
त्यसैगरी, बजेट प्रस्ताव अनलाइनमार्फत पनि हेर्न सकिने व्यवस्था गरिएको छ। काउन्टीको नियमअनुसार प्रस्तावित बजेटलाई स्वीकृतिका लागि पेस गर्नुअघि कम्तीमा २० दिनसम्म सार्वजनिक अवलोकनका लागि राखिनेछ।
त्यसपछि डिसेम्बर १६, बुधबार दिउँसो १:३० बजे बस्ने कमिश्नर बोर्डको बैठकमा बजेट स्वीकृतिका लागि छलफल तथा निर्णय गरिने कार्यक्रम रहेको छ।



















