चीनको सेन्जेन पुगे राष्ट्रपति ट्रम्प, चिनियाँ समकक्षी सीद्वारा विमानस्थलमै स्वागत
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा सहभागी हुन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार चीनको दक्षिणी सहर सेन्जेन पुगेका छन् ।
ह्वाइट हाउसले सार्वजनिक गरेको तस्बिरमा सेन्जेन बाओआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका राष्ट्रपति ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले विमानस्थलमै पुगेर स्वागत गरेका छन् ।
एपेक प्रशान्त क्षेत्रका २१ वटा सदस्य राष्ट्रहरूबिच स्वतन्त्र व्यापार र आर्थिक विकास प्रवर्द्धन गर्न सन् १९८९ मा स्थापित एक अन्तर सरकारी मञ्च हो।
विश्वको ६० प्रतिशतभन्दा बढी जीडीपी ओगट्ने यस सम्मेलनमा अमेरिका, चीन, जापान, रुस, दक्षिण कोरिया र अष्ट्रेलिया लगायतका २१ देशका राष्ट्र तथा सरकार प्रमुखहरू सहभागी हुन्छन्।
एसिया–प्रशान्त क्षेत्रमा आफ्नो व्यापारिक तथा रणनीतिक प्रभाव कायम राख्न, अमेरिकी व्यवसायका लागि बजार विस्तार गर्न र विश्व शक्तिहरूसँग प्रत्यक्ष आर्थिक एवं कूटनीतिक संवाद गर्न अमेरिकी राष्ट्रपतिले यसमा भाग लिने गर्दछन्।
चिनियाँ राष्ट्रपति सीले कुनै पनि अमेरिकी राष्ट्रपतिलाई विमानस्थलमै पुगेर स्वागत गरेको यो पहिलो पटक भएको बीबीसीले जनाएको छ । ‘एअर फोर्स वान’ विमानबाट ओर्लने बित्तिकै राष्ट्रपति सीले ट्रम्पलाई अँगालो हालेर स्वागत गरेको भिडियोहरूमा देखिन्छ ।
त्यसो त गत सेप्टेम्बरमा चिनियाँ राष्ट्रपति सी अमेरिका भ्रमणमा आउँदा ट्रम्पले विमानस्थलमै पुगेर स्वागत गरेका थिए ।
स्वागत समारोहमा चिनियाँ प्रथम महिला पेङ लियुआनको पनि उपस्थिति थियो भने दुवै देशका राष्ट्रिय गानका साथै लडाकु विमानहरूको फ्लाईओभर समेत प्रदर्शन गरिएको थियो।
सी–ट्रम्प द्विपक्षीय सम्बन्धबारे सन्देश
चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वा का अनुसार, स्वागतका क्रममा राष्ट्रपति सीले सम्मान, निष्पक्षता र पारस्परिकताको आधारमा अमेरिका र चीनबीच रचनात्मक, रणनीतिक र स्थिर सम्बन्ध अगाडि बढाउन चाहेको बताएका थिए ।
जवाफमा राष्ट्रपति ट्रम्पले पनि आफ्नो यो भ्रमणले द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने र सफल हुने विश्वास व्यक्त गरेका छन् ।
राष्ट्रपति ट्रम्प एसिया भ्रमणको क्रममा फिलिपिन्सको मनिला हुँदै सेन्जेन पुगेका हुन् ।
फिलिपिन्सको मनिलामा एक दिनभन्दा कम समय बिताएका राष्ट्रपति ट्रम्पले ४९औँ आसियान शिखर सम्मेलनमा सहभागी हुनुका साथै राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरसँगको भेटवार्ता गरेका थिए ।
त्यस पछि अमेरिका र फिलिपिन्सबीच “अहिलेसम्मकै सबैभन्दा ठूलो र निष्पक्ष व्यापार सम्झौता” सम्पन्न भएको घोषणा गरिएको थियो ।
सोही भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले अमेरिका, भारत, जापान र अष्ट्रेलिया सम्मिलित ‘क्वाड’ राष्ट्रका नेताहरूसँग सामुद्रिक सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रवर्द्धनबारे बैठक गर्नुका साथै थाइल्यान्डका प्रधानमन्त्रीसँग पनि व्यापार समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।
चीनमा हुने छ विश्वका तीन शक्तिशाली नेता बीच वार्ता
यस पटकको एपेक शिखर सम्मेलनको मुख्य आकर्षण बिहीबार हुने भनिएको तीन महाशक्ति राष्ट्रका प्रमुखहरूको ऐतिहासिक बैठक बनेको छ।
सम्मेलनको साइडलाइनमा अमेरिकी राष्ट्रपति ट्रम्प, चिनियाँ राष्ट्रपति सी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच पहिलो पटक त्रिपक्षीय वार्ता हुन लागेको हो।
विश्व राजनीतिमा निकै महत्त्वका साथ हेरिएको उक्त त्रिपक्षीय बैठकमा रुस–युक्रेन युद्ध, इरान संकट, आणविक हतियार नियन्त्रण तथा विश्व व्यापार र प्रविधि (एआई) का विषयमा गहन छलफल हुने अपेक्षा गरिएको छ।



















