म्याग्दी समाज अमेरिकाद्वारा बाढी पीडितका लागि १० लाख ३० हजार रुपैयाँ सहयोग
बाल्टिमोर, मेरिल्याण्ड / म्याग्दी समाज अमेरिकाले हालै नेपालमा आएको विनाशकारी बाढी पीडितका लागि दश लाख तीस हजार रुपैयाँ सहयोग प्रदान गरेको छ।
संस्थाको विशेष पहलमा संकलन गरिएको उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको म्याग्दी समाज अमेरिकाले जनाएको छ।
प्राकृतिक विपत्तिको यस कठिन घडीमा जन्मभूमिका पीडित दाजुभाइ तथा दिदीबहिनीहरूलाई मलम लगाउने उद्देश्यले अमेरिकामा रहेका नेपालीहरूबाट आर्थिक सहयोग जुटाइएको हो।
समाजको आह्वानमा ५१ जना बाट ६ हजार आठ सय २ डलर संकलन भएको जनाइएको छ ।
अभियान सफल भएपछि म्याग्दी समाजले सामाजिक सञ्जाल मार्फत सहयोग गर्ने सम्पूर्ण दाता, शुभेच्छुक तथा प्रत्यक्ष-अप्रत्यक्ष रूपमा साथ दिने सबैप्रति हार्दिक आभार एवं कृतज्ञता व्यक्त गरेको छ।
संस्थाले प्राप्त अमूल्य सहयोग, सद्भाव र मानवीय भावनाले बाढी पहिरो पीडितहरूको पुनर्स्थापना र राहतमा ठूलो सहयोग पुग्ने विश्वास लिएको छ।














