अमेरिकामा एक दक्षिण एसियाली चिकित्सकले होस गुमाउँदा आफ्नै जीवनमा आइपरेको बज्रपात
ल्यान्क्यास्टर, पेन्सिल्भेनिया / ल्यान्क्यास्टर काउन्टी डिस्ट्रिक्ट एटोर्नीज् अफिसले अगस्ट २६ तारिख बुधबार दिउँसो एउटा सूचना सार्वजनिक गर्यो। प्रहरी तथा जिल्ला न्यायाधिवक्ताको कार्यालयबाट अपराधसम्बन्धी सूचना तथा जानकारी प्रायः दैनिक रूपमा आइरहन्छन्।
तर बुधबारको त्यो एउटा सूचना, सूचना मात्र थिएन जहाँ एउटा चिकित्सकले होस गुमाउँदा अब उनको जीवन कसरी अन्धकारमा धकेलिँदै छ भन्ने कहालीलाग्दो कथा समेत बाहिरिएको छ।
भनिन्छ, जीवन सप्रिन वर्षौँ लाग्छ, तर भत्किन केवल एक क्षण र एउटै गल्ती पर्याप्त हुन्छ।
पेन्सिल्भेनियामा कार्यरत एक प्रतिष्ठित दक्षिण एसियाली चिकित्सकको जीवनमा घटेको एउटा लापरवाहीपूर्ण घटनाले अहिले यो भनाइलाई चरितार्थ गरिदिएको छ।
मादक पदार्थको नशामा (डीयूआई) होस गुमाएर गाडी चलाउँदा भएको एउटा भयानक सडक दुर्घटनाले उनीसँगै रहेकी एक नर्सको जीवन त समाप्त मात्र पारेन, अब उनकै उज्ज्वल करियर पनि अन्धकारमा धकेलिदिएको छ।
ल्यान्क्यास्टर काउन्टी डिस्ट्रिक्ट एटोर्नीज् अफिसले सार्वजनिक गरेको विवरणअनुसार, पेन्सिल्भेनियाको ड्यानभिलमा बसोबास गर्दै आएका ३८ वर्षीय जनरल सर्जन (शल्यचिकित्सक) डा. अपार शिरिषकुमार पटेलले अदालतसमक्ष आफ्ना सबै गम्भीर अपराधहरू स्वीकार गरेका छन्।
उनले गत जुलाई ३१ मा न्यायाधीश डेनिस रेनाकरसमक्ष मादक पदार्थको प्रभावमा सवारी चलाएर हत्या गरेको, दुईवटा डीयूआई मुद्दा र चारवटा ट्राफिक नियम उल्लंघनका मामिलामा आफ्नो दोष पूर्ण रूपमा स्वीकार गरेका हुन्।
दुई वर्ष अगाडिको त्यो रात जहाँ डा. पटेलले होस गुमाएका थिए
घटना सन् २०२४ को सेप्टेम्बर महिनाको हो। अनलाइन डेटिङ एपमार्फत भेटिएकी ह्यारिसबर्गकी ३३ वर्षीया नर्स कारा क्लेभेन्जरसँग डा. पटेल ल्यान्क्यास्टर सहरमा बेलुकाको खाना खान गएका थिए।
खाना खाएपछि उनीहरू तीनवटा छुट्टाछुट्टै बारमा पुगेर अत्यधिक मात्रामा मादक पदार्थ सेवन गरे। मध्यरातमा मदिराकै नशामा डा. पटेलले गाडीको स्टेरिङ सम्हाले।
प्रहरीको दुर्घटना पुनर्निर्माण प्रतिवेदनअनुसार डा. पटेलले रुट २८३ मा करिब ८० माइल प्रतिघण्टाको तीव्र गतिमा गाडी गुडाएका थिए।
जुन समयमा उनले सडकको छेउमा पार्क गरेर राखिएको एउटा ट्र्याक्टर-ट्रेलरलाई ठम्याउनै सकेनन् र गाडी सिधै त्यसमा लगेर ठोक्काए।
ठक्कर यति भयानक थियो कि गाडीको यात्रुतर्फको सिटबेल्ट पूर्ण रूपमा चुँडियो र नर्स कारा क्लेभेन्जर गाडीबाट बाहिर सडकमा उछिट्टिइन्, जहाँ आउँदै गरेका अन्य गाडीहरूले उनलाई किचेका थिए।
उनको घटनास्थलमै मृत्यु भयो। दुर्घटना भएको दुई घण्टाभन्दा कम समयभित्र डा. पटेलको रगत जाँच गर्दा उनको शरीरमा अल्कोहलको मात्रा ०.१३४ प्रतिशत देखिएको थियो, जुन कानुनी मापदण्डभन्दा कति औँ गुणा बढी हो।
दुर्घटनापछि सुरुमा डा. पटेलले प्रहरीलाई भ्रममा पार्न काराले नै गाडी चलाइरहेको झूटो बयान दिएका थिए। तर, जब उनले काराको मृत्यु भइसकेको थाहा पाए, तब मात्र उनले आफू चालक रहेको स्वीकार गरे। पछि डीएनए परीक्षणले पनि उनी नै चालक सिटमा रहेको अकाट्य पुष्टि गरिदियो।
त्यो बेला पटेललाई दुई लाख ५० हजार डलरको धरौटीमा रिहा गरिएको थियो। नर्स क्लेभेन्जरले ह्यारिसबर्गको यूपीएमसी पिनाकल हेल्थमा काम गर्थिन्।
उनले गाडी चलाउन सुरु गरेपछिका कुनै पनि घटनाहरू आफूलाई याद नभएको अधिकारीहरूलाई बताएका थिए।
ल्यान्क्यास्टर काउन्टी सरकारी वकिलको कार्यालयका अनुसार, अब अदालतले सजायपूर्वको अनुसन्धान सम्पन्न गरेपछि पटेललाई सजाय सुनाइनेछ।
एउटै गल्तीले तहसनहस भएको जीवन र कानुनी सजाय
अदालतमा दोष स्वीकार गरेसँगै डा. पटेलको भविष्य र करियर धरमराएको छ। उनले के सजाय पाउँछन्, त्यो अदालतबाट घोषणा हुन बाँकी नै छ।
तर पेन्सिल्भेनियाको कडा कानुनअनुसार डा. पटेलले अब भोग्नुपर्ने सम्भावित सजायहरूमा अनिवार्य जेलदेखि जरिवाना र सवारीसाधन तथा मेडिकल लाइसेन्स नै गुमाउने खतरा पनि उत्तिकै रहेको बताइएको छ।
मादक पदार्थ सेवन गरी सवारी चलाएर हत्या गरेको यो कसुर दोस्रो डिग्रीको गम्भीर अपराध मानिन्छ। यसमा पेन्सिल्भेनियाको कानुनअनुसार घटीमा ३ वर्षको अनिवार्य जेल सजाय भोग्नैपर्ने प्रावधान छ।
अपराधको गम्भीरता हेरेर न्यायाधीशले १० वर्षसम्मको जेल सजाय र प्रतिमुद्दा २५,००० डलरसम्मको आर्थिक जरिवाना तोक्न सक्नेछन्।
त्योसँगसँगै वर्षौँको कडा मिहिनेत र आमा-बाबुको करोडौँ रुपैयाँ खर्च गरेर प्राप्त गरेको उनको मेडिकल लाइसेन्स स्थायी रूपमा खारेज वा निलम्बन हुन सक्छ। यतिसम्म कि उनले अब कहिल्यै चिकित्सकका रूपमा काम गर्न नपाउन पनि सक्छन्।
उनको ड्राइभिङ लाइसेन्स पनि वर्षौँका लागि खोसिनेछ।
डा. पटेलको राष्ट्रियता खुलेको छैन। यदि डा. पटेल जन्मसिद्ध अमेरिकी नागरिक नभएर ग्रिन कार्ड वा एच-वान-बी भिसामा रहेका विदेशी नागरिक हुन् भने, जेल सजाय पूरा गरेपछि उनलाई अमेरिकाबाट सधैँका लागि देश निकाला गरी आफ्नै देश फिर्ता पठाइनेछ।
सकभर मदिरा नपिऔँ, पिउनै परे गाडी नचलाऔँ
यो घटना केवल एउटा सडक दुर्घटना मात्र होइन, बरु एउटा शिक्षित र प्रतिष्ठित व्यक्तिले आफ्नै जीवनमा गरेको चरम लापरवाहीको भयानकता हो।
डा. पटेलजस्तो समाजले आदर गर्ने, जीवन बचाउने कसम खाएको एक शल्यचिकित्सकले मदिराको उन्मादमा आएर अर्काको जीवन मात्र लिएनन्, आफ्नै समाज र परिवारको शिर पनि सधैँका लागि झुकाइदिए।
उनको एउटै क्षणको बेहोसीले उनको परिवारलाई कहिल्यै निको नहुने चोट दिएको छ भने उनको आफ्नै भविष्य अन्धकारको खाडलमा जाकिएको छ।
हामी फेरि भन्छौँ, सकभर मदिरा सेवन नगरौँ; यदि पिउनै परेमा वा सामाजिक जमघटमा पिउनु परेमा, कुनै पनि हालतमा गाडीको स्टेरिङ नछुऔँ। उबर, लिफ्ट जस्ता ट्याक्सी सेवा प्रयोग गरौँ वा नपिएका साथीहरूलाई गाडी चलाउन दिऔँ।
याद राखौँ, हाम्रो एउटा सानो हेलचेक्र्याइँले आफ्नै खुसी, परिवारको इज्जत र सिङ्गो भविष्य क्षणभरमै खरानी बनाइदिन सक्छ।














